शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा एमाले सांसद रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् । शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा पन्तलाई नियुक्त गरिएको हो ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
नवनियुक्त मन्त्री पन्तको बिहीबार अपराह्न ४ बजे पद तथा गोपनियताको शपथग्रहण कार्यक्रम हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
बुधबार नै प्रधानमन्त्री ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई बर्खास्त गरेका छन् । आफूविरुद्ध अभिव्यक्ति दिएको भन्दै ओलीले राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका हुन् ।