काठमाडौँ / नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने निष्कर्ष निकालेको छ । मंगलबार राति सम्पन्न भएको बैठकले पूर्वराष्ट्रपति साझा व्यक्तित्व र देशको अभिभावक भएकाले दलविशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुन मिल्दैन भन्ने निष्कर्ष निकालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
च्यासलस्थित पार्टी मुख्यालयमा सम्पन्न दुई दिने बैठकले पूर्वराष्ट्रपति राजनीतिमा सक्रिय हुँदा जनतामा, प्रणालीमा व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर भएको निष्कर्ष निकालेको गौतमले विज्ञप्ती मार्फत जानकारी दिए ।
विज्ञप्तीमा लेखिएको छ,“…मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतिक संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतिक, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दलविशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिवाट सम्भव हुँदैन र मिल्दैन भन्ने निष्कर्ष निकालेको छ। यसले जनतामा, प्रणालीमा व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर गरेको छ । त्यसकारण बैठकले पूर्व राष्ट्रपतिलाई उच्च सम्मान व्यक्त गर्ने निर्णय गरेको छ ।”
बैठकले विधान संशोधनसम्बन्धी प्रस्ताव सुझावसहित सर्वसम्मतिले पारित समेत गरेको छ ।