- खगेन्द्र फुयाल
असार १५ गतेलाई नेपालमा धान दिवसका रूपमा मनाइन्छ । यो दिन विशेषगरी धान रोपाइँको सुरुवातको प्रतीक र कृषकहरूलाई वर्षभरीको मेहनतको लागि उत्प्रेरित गर्ने अभिप्रायका साथ मनाउदै आएको छ ।
विसं २०६१ सालमा नेपाल सहित विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । सोही आधारमा सरकारले २०६१ साल मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने निर्णय गर्यो । त्यही आधारमा २०६२ सालदेखि नेपालमा सरकारी तबरमा असार १५ गते राष्ट्रिय धान दिवस मनाउदै आएको छ । कृषि मन्त्रालयले यो दिनमा सरकारी खर्चमा धान महोत्सव गर्नुका साथै धान बालीको महत्वका बारेमा विभिन्न विचार गोष्टी गर्ने गर्दै आएको छ ।
नेपालमा धान रोपाइ परापूर्वकालदेखि नै चलिआएको मानव सभ्यतासँग जोडिएको परम्परागत खेतीका रुपमा लिने गरिन्छ । जसलाई कृषकहरुले घरमा रहेको छिटोमिठो खाजा दही चिउरा खाएर धान रोपाइमा जाने गर्दथे । जसलाई कालान्तरमा सरकारले औपचारिकता दिएर असार १५ गतेका दिन दहीचिउराका साथ राष्ट्रिय दिवसको रूपमा मनाउन थालिएको छ।
असार लागेसँगै कृषकहरु धान रोपाइमा व्यस्था छन् । यता धान दिवस मनाउनेहरु दही चिउराका साथ केही मिनेटका लागि हिलोमा पसेर धान रोपाइको रमाइलोमा व्यस्त छन । उता कृषकलाई सधैको चटारो । यथार्थमा कृषकलाई धान दिवसको उत्सव भन्दा पनि रोपाइ खेताला सिँचाइ मलखाद लगायत समस्याले सताउदै आएको छ ।
नेपालीको मुख्य खाना भात भएका कारण धान उत्पादन र खाद्य सुरक्षाका लागि सरकारी तबरबाट योजना बनाइ अघि बढ्नुपर्छ । बढ्दो सहरीकरणले घट्दो कृषियोग्य जमिन र कृषि पेशामा युवापुस्तको आकर्षण घट्नु र बाँजो हुदैगएको कृषियोग्य जमिन पुनःप्रयोग गर्ने विषयमा सरकारले नीतिमार्फत योजना ल्याउन आवश्यक देखिन्छ ।
कृषकका तमाम समस्या अध्ययन गरी दिर्घकालीन समाधानका गर्न सरोकारवाला निकायको भूीमका महत्वपूण हुन्छ । कृषिमा आधुनिकीकरण र यसक्षेत्रका चौतर्फी विषयमा सरकारले अध्ययन अनुसन्धान गरी कषि क्षेत्रको दिगो विकासमा लगानी आवश्यक छ । सरकार र यससँग सम्बन्धित निकायहरुले धान दिवस केन्द्रीत महोत्सव मात्र हैन वर्षभरी नै कृषक तथा कृषिक्षेत्रको विकासमा लाग्न आवश्यक छ ।
कृषकका दुःख
धान दिवस र दही चुउराको रमाइलो एकातिर छ भने, अर्कातिर कृषकहरूले वर्षैपिछे अनेकौं समस्याको सामना झेल्नु परिरहेकै छ । समयमा मलखाद नपाउनु प्राविधिक सहायता नपाउनु, उत्पादनको उचित बजारीकरण नहुनु , राम्रो बजारभाउ नपाउनु जस्ता समस्याले कृषकहरु मारमा पर्दै आएका छन् । जसका कारण कृषकको आय तथा दैनिक जिवनस्तरमा समेत असर गनर्सका साथै युवा पुस्तालाई कृषि कर्ममा कम आकर्षण गरिरहेको छ ।
नेपालको कृषि अझै पनि मनसुनमा आधारित छ । व्यवस्थित सिँचाइ सुविधाको अभावमा कृषकहरु मनसुनमा निर्भर हुँदा त्यसको प्रत्येक्ष असर कृषि उत्पालदान हुदै आएको छ । कतिपय ठाउँमा सिँचाइका लागि नहर वा कुलोको सुविधा भए पनि नियमित मर्मतसम्भारको अभावले पानीको अभाव हुनेगर्दछ । पहाडी क्षेत्रमा कुलो पहिरोले लैजाने खुख्खायाममा पानी अभाव हुने जस्तो समस्या झेल्नुपर्ने बाध्यदा छ ।
हरेक वर्ष धान रोप्ने सिजनमा मलको अभाव एउटा ठूलो समस्याका रूपमा देखा पर्छ । यसवर्षपनि मल अभावका भएका समाचार सञ्चारमाध्यममा आएका छन् । समयमा मल नपाउँदा वा कालोबजारीका कारण महँगोमा किन्नुपर्दा कृषकहरू मारमा पर्छन्। गुणस्तरीय बीउको उपलब्धता पनि अर्को चुनौती हो। नक्कली वा कमसल बीउका कारण उत्पादन घट्ने जोखिम रहन्छ।
उत्पादित धानले उचित बजार मूल्य नपाउनु कृषकहरूको अर्को ठूलो पीडा हो। बिचौलियाको बिगबिगीका कारण कृषकले उत्पादनको उचित मूल्य पाउँदैनन् भने उपभोक्ताले महँगोमा किन्नुपर्छ। सरकारी खरिद प्रक्रिया झन्झटिलो हुनु र भण्डारणको उचित व्यवस्था नहुनुले पनि कृषकहरूलाई सस्तोमा धान बेच्न बाध्य बनाउँछ। जलवायु परिवर्तनको असरले कृषिमा नकारात्मक प्रभाव पारेको छ। कहिले अतिवृष्टि, कहिले अनावृष्टि त कहिले असिना पानीले पाकेको बालीनाली नष्ट गरिदिन्छ। यसले गर्दा कृषकहरूले ठूलो नोक्सानी व्यहोर्नुपर्छ।
नेपालका अधिकांश कृषकहरू अझै पनि परम्परागत विधिबाट खेती गर्छन्। आधुनिक कृषि प्रविधि, यन्त्र र ज्ञानको अभावले उत्पादन लागत बढी हुन्छ र उत्पादकत्व कम हुन्छ । कृषि कार्यका लागि लिएको ऋण र प्राकृतिक प्रकोपका कारण हुने नोक्सानीले धेरै कृषकहरू गरिबीको चपेटामा पर्छन्। जीविकोपार्जनका लागि विदेशिनुपर्ने बाध्यता बढ्दै गएको छ।
धान दिवसले कृषकको मिहिनेत र योगदानलाई सम्मान गर्न जिम्मेवार निकायलाई प्रेरित गर्नुपर्दछ । यो दिवस कृषकका समस्याहरूलाई बेवास्ता गरी रमाइलो गर्ने दिन होइन।
सरकारले सिँचाइ, मल, बीउ, बजार व्यवस्थापन र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्छ । आधुनिक प्रविधिको विस्तार र कृषकलाई उचित तालिम तथा अनुदानको व्यवस्था गर्नुपर्छ । जब कृषकहरूले आफूलाई सुरक्षित र सम्मानित महसुस गर्छन्, तब मात्र धान दिवसको वास्तविक सार्थकता पुष्टि हुनेछ ।