काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव जारी रहेको छ। यसका कारण देशका अधिकांश भू-भागमा आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले जारी गरेको बुलेटिन अनुसार, देशभरको मौसम सामान्यतया बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभरको मौसम बदली रहने र देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेषगरी बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
यसैगरी, आज राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले पहाडी क्षेत्रमा भू-क्षय, बाढी र पहिरोको जोखिम बढेको जनाएको छ। त्यसैले, महाशाखाले नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेकाले यात्रा गर्दा र नदी किनारामा बसोबास गर्नेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।