साउन ३०, कञ्चनपुर जिल्लाको महेन्द्रनगर, मदनचोकमा आरक्ष पीडितलाई क्षतिपूर्तिको व्यवस्था, ढक्का र तारापुरसमेतका जनताको बसोबासको व्यवस्था, आरक्ष पीडितलाई द्वन्द्वपीडित घोषणा, निःशुल्क स्वास्थ्य र शिक्षालगायतका माग राख्दै २०८२ श्रावण २२ गतेदेखि आरक्ष पीडित सङ्घर्ष समितिका तर्फबाट अध्यक्ष जयबहादुर रोकाया र रणबहादुर बम आमरण अनशन बसेको घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ ।
यस विषयमा आयोगमा ज्ञापनपत्र समेत प्राप्त भएको छ । महेन्द्रनगरका साथै कञ्चनपुर जिल्लाकै वाणी र लालझाडीको ढक्का शिविरमा भइरहेको रिले अनसनको समेत राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीबाट अनुगमन भएको छ । आमरण अनशनरत व्यक्तिहरु ज्येष्ठ नागरिक पनि रहेको र अनशन लम्बिँदै समेत गएको सन्दर्भमा निजहरुको स्वास्थ अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको अनुगमनबाट पाइएको छ ।
नेपालको संविधानमा व्यवस्था भएका मौलिक हकहरु, विशेषतः सम्मानपूर्वक बाँच्न पाउने हक, सम्पतिको हक, शिक्षाको हक, रोजगारीको हक, स्वास्थ्य सम्बन्धी हक, आवासको हक, महिलाको हक, बालबालिकाको हक, दलितको हक र ज्येष्ठ नागरिकको हकसमेतका व्यवस्था आरक्ष पीडितहरूको अधिकारका रुपमा समेत आकर्षित हुने देखिएको छ । संविधानको धारा ५६ (६) मा मानव अधिकार र मौलिक हकहरूको संरक्षण गर्ने दायित्व राज्यका तीनवटै तहको हुने भनी उल्लेख भएको छ । नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ मा मानव अधिकारको संरक्षण, प्रवद्र्धन र समन्वयको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको छ । त्यसैगरी नेपाल पक्ष राष्ट्र भएको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ को धारा २ मा कुनै पनि अवस्थामा कुनै पनि व्यक्तिलाई आफ्नो जीवन धान्ने उपायबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।
अतः आमरण अनशनमा रहेका व्यक्तिहरुको स्वास्थ्य अवस्था समेतलाई ध्यानमा राखी निजहरुको मागका सम्बन्धमा यथाशीघ्र छलफल गर्दै विवादका विषयहरुमा वार्ता र सहमतिकै माध्यमबाट निष्कर्षमा पुगी अनशनरत व्यक्तिहरुको जीवन रक्षा गर्न आयोग तीनै तहका सरकारलाई निर्देशन गर्दछ । साथै, आमरण अनशनलाई स्थगित गरी आफ्ना माग र अधिकारका सम्बन्धमा वार्ता, छलफल र कानूनी बाटो अवलम्बन गर्न समेत आयोग अनशनरत पक्षलाई आग्रह गर्दछ ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: