- विनोद दाहाल
आम मानिसबीच राजनीति हेयको क्षेत्र बनेको छ । ईमान र स्वाभिमान हुनुपर्ने राजनीतिक अयोग्य मानिस र झैझगडा गर्नेहरू यसमा सामेल भएर फोहोरि खेल खेल्छन् भन्ने भाष्य स्थापित गराउने प्रयत्न भैराखेको छ । त्यसमा पनि अहङ्कारि र व्यक्तिको प्रतिशोधपूर्ण व्यवहार देखेर आम नागरिकले राजनीतिलाई तल्लो स्तरको रुपमा लिन थालेको छन् ।
प्रयोगमा आएका नीति सिद्धान्त सबै असफल भएपछि तत्कालिन नेतृत्वहरूको पतन हुनुपर्ने हो त्यो भएको छैन । विचारको विकास गर्न नसकेपछि उनीहरू पतन हुनुपर्ने हो त्यसो भएको छैन । यही कारण मानिसमा नैरास्यता आउँछ, यस्तो हुनु स्वभाविक पनि हो ।
निरास मानिसले फरक बाटो खोज्नथाल्छ । यसले दलहरूको सन्तुलनलाई बिगार्न थाल्छ । यसपछि हलचल आउँछ अर्थात वितृष्णाको पैरो जानथाल्छ । संसदीय व्यवस्थामा यस्ता विपत्तिका पैरोहरू खसिरहेका छन् । अहिले त्यसमा थप सङ्कट थपिएको छ ।
वर्गीय समाज व्यवस्था बुझ्ने, वर्गीय अन्तरविरोध बुझ्ने र त्यसलाई व्यवस्थित गर्न नीति निर्माणका साथै व्यवहारिक ढङ्गले लाग्ने कार्य राजनीति हो । राज्यको उत्पतिदेखि नै राज्यव्यवस्थालाई कसरी मजबुत बनाउने भनेर मानिसले अनेक प्रयत्नहरू गरेका छन् । त्यसैले राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजिविकाका लागि रणनीति र कार्यनीतिहरू निर्माण भएका छन् । ती रणनीति र कार्यनीति विकास गर्ने र लागू गर्ने कारय एकआपसमा सम्बन्धित हुन्छन् । यसै कार्यअन्तर्गत व्यवहारहरू गर्ने नै राजनीति हो र यो मानिसको महत्वपूर्ण कार्य हो । यो क्षमताहरूको होडवाजीमा अब्बलहरूबीच प्रतिस्पर्धात्मक जुन कार्यहरू हुन्छन् त्यो नै राजनीति हो ।
राजनीति जनताले गर्ने बिषय अझैसम्म बनिसकेको छैन । यो त शासकीय गुण र भाग्य विधाताले दिने बरदान बुझ्ने गर्दथे । सामन्तवादमा जनतालाई राजनीति गर्न निषेध थियो । सामन्तवादसँग पुँजीपति वर्गले अधिकार खोज्न थालेपछिको संघर्षमा पुँजीपति वर्गलाई साथदिने क्रममा जनताले पनि राजनीति गर्न थालेका हुन् । जब पुँजीपति वर्गले शासन सत्ता हत्याए त्यसपछि मात्र जनताका सबै वर्ग समुदायले आआफ्ना अधिकारहरू खोज्न थाले । अहिले आआफ्नो वर्गको सत्ता प्राप्तिको अधिकारको जुन विवेकहीन सङ्घर्ष चलिरहेको छ यही नै राजनीति हो ।
सत्ता संघर्षको क्रममा कुनै वर्ग एक्लैले चलाउने अवस्था कमजोर बनेपछि भाईचारा वर्गहरू जुट्दै सत्ता हत्याउने क्रम शुरु भयो । यसैका लागि जनअनुमोदन खोज्न वा वैधानिकता बनाउनका लागि जेजस्तो व्यवस्था गरिएको छ त्यो नै राजनीति हो ।
पछिल्लो चरणमा अर्थात समाजमा सर्वहारा वर्गको उपस्थित भयो त्यसपछि राजनीतिको पाटो पनि बदलियो । समाज विकासक्रममा यो एउटा फड्को रुपमा देखापर्यो । मानिसको सोच्ने, बुझ्ने, व्यवहार गर्ने सबै अवस्थाहरू बदलियो । कुनै पनि वर्गले आफ्नो सत्ता स्वार्थ पूरा गर्न कि त साम्राज्यवाद कि त सर्वहारावाद नीति अँगाल्न वाध्य भए ! शोषक वर्गहरू र शोषित वर्गहरू छुट्टिएर सत्ता सङ्घर्षमा सामेल हुनथाले ।
यो वर्गसंघर्षको मुर्त रुपमा सतहमा आयो । अहिले विश्वमा कि त साम्राज्यवादी सत्ता वा अधिनायकवाद लागु हुन्छ कि त सर्वहारावादी सत्ता अर्थात अधिनायकवाद हुन्छ । यसले गर्दा अर्ध शोषक वर्ग र अर्ध शोषित वर्ग अर्थात समाजमा रहेका अन्य वर्गहरू अन्यौल र असन्तुष्टि व्यक्त गर्ने अवस्थामा हुन्छन् । त्यसैले राजनीति कसैका लागि आशा वा उपलब्धिको बिषय बनेको छ भने कसैका लागि निराशा र अकर्मण्षताको बिषय बनेको छ ।
समाजमा रहेका विशाल समुदायहरू अधिनायकवादको सिकार भएर रहनुपर्दाको अवस्थाले गर्दा राजनीतिप्रति बितृष्णा पोख्ने गर्छन् । मानिस जति राजनीति गरेको भने पनि तातो तावाबाट भुतभुतेमा परेको जस्तो मात्र महशुस गर्न पुग्दछन् । मानिसको राजनीति प्रतिको बितृष्णाको पहिलो र मुख्य कारण यही बनेको छ ।