काठमाडाैं । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् ।
‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेका छन् । प्रहरीले कुटपिट गरेको सो भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
प्रहरीले बाइपास सडकखण्डमा रातिको बेलामा मोटरसाइकल चेकिङ गरिरहेको भिडियोमा देखिन्छ । त्यहीबेला प्रहरीले ‘फोन गर्ने ?’, ‘माथिको पावर देखाउने ?’ भन्दै एक युवकलाई कुटपिट गरेको देखिन्छ ।
प्रहरीबाट जोगिन ती युवक अलि पर भाग्न खोज्छन् । तर प्रहरी पछि लाग्दै लात्तीले हानेर बिजुलीको पोल छेउँमा लडाउँछन् । ती युवक लडिसकेपछि पनि उनले गाली गर्दै लात्ती प्रहार गरिरहेको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएकाे जनाएकाे छ । घटना भएको लोकेसन भेरिफाइ गरि दाेषिमाथि कारबाही गरिने प्रहरीले जनाएकाे छ ।