- विनोद दाहाल
साम्राज्यवादमा पतन भएको पुँजीवाद दलाल पुँजीवाद हो । अन्य देशको पुँजीलाई राष्ट्रिय पुँजी हुननदिएर आफ्नो माताहतमा ल्याईएको पुँजी दलाल पुँजी हो । त्यसलाई मान्यता दिने राज्यव्यवस्था दलाल पुँजिवादी राज्यव्यवस्था हो ।
त्यस्तो नीति स्वीकार्ने राजनीतिक दल दलाल पुँजीवादी दल हुन् र ती दलसँग आबद्ध नेता–कार्यकर्ताहरू दलाल हुन् । साम्राज्यवादले ती सबैको हितरक्षा र पालनपोषण गरेको हुन्छ ।
अहिले यसले भुमण्डलीकृत रुप लिएको छ र अनेक रुपहरू बनाएको छ । विस्तारवाद यसको सहयोगी रुप हो । यसले सामन्तवादको पनि संरक्षण गर्न थालेको छ । भाडाका बौद्धिक जमात जम्मा पारेर साम्राज्यवादले वैधानिकता र ओैचित्यता देखाउने दुस्प्रयास गरेको हुन्छ ।
साम्राज्यवाद पटकपटक संकटमा पर्दै आइरहेको छ र संकटहरू टार्दै झन् ठूला संकटहरू निम्त्याउँदै आइरहेको छ । यसको साथमा यसले विश्वमा झन्झन् समस्याहरू र संकटहरू पनि निम्त्याईरहेको छ । पछिल्लो चरणमा दलाल पुँजीलाई उधारो व्यवस्था र ऋणको निर्वाध सप्लाई व्यवस्था मिलाएर तत्कालको समस्या टार्ने र पछि त्यो कमजोर देशहरूको भार बनाईदिने गरेको छ । ती देशहरूका गरिबी र अभावमा साम्राज्यवादका संकटहरू अभिव्यक्त हुनेगरेका छन् ।
यो विश्वका श्रमजिवी जनतासँग दुस्मनी साँधिरहेको छ । साम्राज्यवादले दलाल पुँजी सुरक्षित राख्ने भरपर्दो व्यवस्था गरेको छ । त्यो सहजै सुरक्षित र उपयोगी ठाउँमा स्थानान्तरण हुनसक्ने व्यवस्था गरेको छ । कुनै पनि देशका बिद्रोहीले कब्जा गर्नुअघि नै उक्त पुँजी सुरक्षित स्थानान्तरण भैसकेको हुन्छ । त्यसैले अहिलेको क्रान्ति वा बिद्रोहमा पुँजी कब्जा गरेर समाजवादको आधार बनाउन सकिँदैन ।
अहिलेको समयमा विश्वका जुनसुकै देशमा पनि क्रान्ति सम्पन्न गर्नुको मतलव हुन्छ– जनवादी व्यवस्थाको स्थापना । अहिलेको विश्वमा समाजवादी क्रान्ति भन्ने हावादारि कुरा मात्र हो । समाजवादी क्रान्तिको कुरालाई अहिलेको साम्राज्यवादले ठूलो समस्याको रुपमा लिंदैन किनकि त्यो सम्भव हुँदैन भन्ने उसले बुझेको छ । नयाँ जनवादी करान्तिको नीति भएका जुनसुकै देशका जुनसुकै दललाई उसले खतर्णाक बुझ्छ र कमजोर पार्ने अनेक तरिका अपनाउने गर्दछ । जोसुकैले यो नाङ्गो आँखाले देख्नसक्छ ।
आफू ठिक छु भन्ने पुष्टि गर्नै नसक्ने साम्राज्यवादले बिकल्पमा आएको नयाँ जनवादलाई असम्भव बताइरहेको छ । यसरी भ्रम सृजना गरेर मात्र यो अस्तित्वमा रहनसक्ने भएकाले अहिलेको विश्व साम्राज्यवादी भ्रम र आक्रमणले आक्रान्त बनेको छ ।
अहिले साम्राज्यवादले आफ्नो अस्तित्व रक्षाको लागि संसारको सबै पुँजीमाथिको नियन्त्रणमा पारेको छ । आफ्नो संकट टार्नका लागि यसले कुनै पनि देशको पुँजी हत्याउने गरेको छ र त्यसका लागि युद्ध थोपर्ने योजना बनाएको छ ।
यसै कारण विश्वभर क्षेत्रियस्तरका युद्धहरूको आमन्त्रण गर्नेगरेको छ । कुनै पनि देशले सम्पत्ति थुपारेपछि वा धनी भएपछि समस्याको रुपमा आउने, आफ्नो आर्थिक संकटहरू टार्दै साम्राज्यवादी रुप लिएर प्रतिस्पर्धी बन्ने र विश्वका जनताको नयाँ आशा बन्ने स्थिति नल्याउन त्यस क्षेत्रलाई असुरक्षित बनाइदिने नीति लिएको छ । ती देशहरूलाई युद्धको भुमरिमा पारेर आफ्नो काबुमा राख्नसक्ने बनाउने गरेको छ ।
हाम्रो देश पनि साम्राज्यवादबाट आक्रान्त छ । यसले अनुदान, आर्थिक सहयोग, ऋण, वाह्यसम्बन्ध, सुरक्षा, पारस्परिक हित आदिका लागि घातक खालका नीतिसहितको सर्तहरूमा पारेर हाम्रो देशलाई नवओैपनिवेशिक स्थितिमा पुर्याएको छ । उदारिकरण, भूमण्डलिकरण, निजिकरण, खुल्ला बजार आदिमा हस्ताक्षर गराएर हाम्रो देश पराधिन र परनिर्भर बन्न पुगेको छ ।
डब्लुटिओको सदस्य बनाउने नाममा प्रवेश पाएको बहुराष्ट्रिय कम्पनिहरू अर्थात साम्राज्यवादले समाज विकासमा अवरोध खडा गरेको छ । यहाँ सामन्तवाद र दलाल पुँजीवाद संसक्षित छ भने राष्ट्रिय पुँजी नष्ट भएको छ । अहिले पाखा, वारि र खेतहरू बँझिंदै गएका छन् भने बहुराष्ट्रिय कम्पनिका उत्पादनले घरका ढुकुटिहरू भरिएका छन् । देश तथ्याङ्कमा उठेको देखाएर वास्तविकतामा खोक्रो पार्दै लगिएको छ ।
जनताले यो देशमा राज्यसत्ताको वास्तविक मालिक को हुन् र उनीहरूलाई कसरी प्रहार गरेर स्वाधिन देशका स्वतन्त्र र सार्वभौम नागरिक बनाउने भनेर चिन्नै मुस्किल बनाईदिएका छन् । साम्राज्यवादले बिद्रोहको नेतृत्व गर्ने जो छ उसलाई पहिले नै ड्यामेज गरिदिने नीति बनाएको छ । त्यसैले विश्वव्यापी रुपमा नै नयाँ जनवादी क्रान्ति एउटा जटिल मोडमा पुगेको छ ।