- भोजराज घिमिरे
राजनीतिक आन्दोलनमा क्रान्तिकारीहरुबिच अन्तरविरोध हुनु स्वाभाविक हो । कम्युनिस्ट बिचारधाराको प्रवेशलाई पनि त्यही रुपमा हेरिनुपर्छ ।
युरोपेली मुलुकहरूमा कम्युनिस्ट आन्दोलनको सुरुवात र विस्तार औद्योगिक क्रान्तिसँगै जन्मेको औद्योगिक सर्वहारा वर्गले आफ्नो आर्थिक र राजनीतिक मुक्तिका लागि झण्डै एक शताब्दीसम्म लडेको वर्गसङघर्षको राजनीतिक इतिहास छ । जसले श्रमजीवी वर्गका साथै शोषित पीडित मानिसलाई आफ्नो मुक्तिका लागि सयुक्त संघर्षमा उत्रिन प्रेरित गरेको थियो ।
बेलायतमा भएको औद्योगिक क्रान्ति र पुँजीवादी क्रान्तिले मान्छेको जीवन पद्धतिमा धेरै परिवर्तन ल्याइदियो । देशको सम्पूर्ण सम्पत्ति कारखानाका मालिक ब्यापारी र बैंकको कब्जामा पर्दै गयो । मालिकहरुले मजदुरलाई मेसिनको पार्टपुर्जालाई जस्तै व्यवहार गरी निरन्तर अठार घण्टासम्म काममा जोताउन थाले ।
रोजगारीमा जोडिएका मजदुरको अवस्था माथि उठ्नुपर्नेमा झन झन दयनीय हुँदै गयो । नयाँ नयाँ मेसिनका आविष्कारले एकसयजना कामदारले गर्ने काम एउटै मेसिनले गर्न थाल्यो । सरकारले चक्लाबन्दी प्रथा लागु गरेका कारण पुँजीको अभावमा कृषकहरू आफ्नो भएको सानो घर र जमिन साँहुलाई बिक्रीगरी सहरतिर लाग्न थाले । तिनै घर खेत बिक्री गरेर सहरमा काम गर्न गएका मजदुरहरु आधुनिक मेसिन र औजारको आविष्कारको मारमा परेर बेरोजगार हुन पुगे ।
थोरै संख्यामा कामदारको माग हुँदा आवेदन दिनेहरुको ताँती लाग्न थाल्यो । यो अवस्थाको फाइदा उठाउदै कारखानाका मालिकहरुले कामदारको ज्याला घटाउने सम्मको दुष्कर्म गरे । यसले पनि मजदुरवर्गको अवस्था झन दयनीय हुदै गयो ।
मजदुरहरुले गरिवी बढ्नुको कारण साहु महाजन ठानेनन् । उनिहरुले आफ्नो शत्रु मेसिन ठानेर भएभरका मेसिनमा तोडफोड गर्ने अभियान चलाए । मेसिन तोडफोड गर्ने आन्दोलनलाई औद्योगिक क्रान्तिका चरणमा श्रमिक विद्रोह (लेवर्स रिभोल्ट) का रुपमा परिचित छ ।
उन्नाइसौं शताब्दीको सुरुवातसम्म बेलायतमा सिमित औद्योगिक क्रान्ति विस्तारै अन्य युरोपेली मलुलक हुदै अमेरिकी देशहरूमा समेत बिस्तार हुदै गयो । यसले राष्ट्रहरुको आर्थिक समाजिक राजनीतिक क्षेत्रमा ठुलो परिवर्तन ल्याइदियो ।
युरोपेली मुलुकहरुमा भएको औद्योगिक क्रान्तिको परिणामस्वरूप मध्यकालीन व्यापारी वर्ग पुँजीपति वने र कालिगढ एवं किसानहरु मजदुर बन्न पुगे ।
खुल्ला व्यापारको सिद्धान्त अनुरुप सरकारको काम केवल देशमा शान्ति कायम गर्नु र व्याक्तिगत सम्पत्तिको रक्षा गर्नुमा सिमित हुदै गयो । त्यस समयका प्रसिद्ध अर्थशास्त्री माल्थसले यस विषयमा थप प्रष्ट पारेका छन् ।
उनले भनेका छन् ‘पुँजीपतिहरुले बढी नाफा गरेको कारणबाट मजदुरहरु गरिब भएका होइनन् । प्राकृतिक नियमअनुसार जीविकाको लागि साधनहरुको तुलनामा जनसंख्या बढी अनुपातले बढ्छ । गरिबहरु यसकारण दोषि छन कि उनीहरू बढी सन्तान जन्माउछन । ’
औद्योगिक क्रान्तिको मुख्य कारण पुँजीपतिहरुले बहुसंख्यक मजदुरहरुको शोषण गरेका थिए । सुरुमा मजदुरहरुले आफ्नो दुःखको कारण मेसिन हो ठानेर मेसिन तोडफोड गर्न थाले । सन् १८१२ मा बेलायतको संसदले मेसिन तोडफोड गर्नेलाई मजदुरहरुलाई मृत्युदण्डको सजाय तोकेपछि मजदुरहरुले आफ्नो अधिकार स्थापित गरिदिन भन्दै सयौं निवेदन संसदमा पठाएका थिए ।
पछि बेलायती संसदले कारखाना सम्बन्धि कानुन त बनायो तर मजदुरको अधिकार रक्षा गर्न सकेन । किनकि संसदमा कारखानाका मालिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बेलायतमा भएको पुँजीवादको विकासले साम्राज्यवादलाई जन्म दियो भने यसले पिछडिएका मुलुकहरुको स्वतन्त्रतालाई समेत अपहरण गरिदियो ।
उद्योगधन्दाहरुबाट उत्पादित वस्तुहरु विक्री गर्न बजारको आवश्यकता पर्न गएकोले उपनिवेशहरु बढाउने कुरामा युरोपेली मुलुकबिचमा प्रतिस्पर्धा नै चलेको थियोे । त्यसैको परिणाम स्वरुप भारत लगायत धेरै दक्षिण एशियाली मुलुकहरूमा बेलायती साम्राज्यवाद फैलियो ।
बेलायतको औद्योगिक क्रान्ति र मजदुरहरुको दयनीय अवस्थाको निराकरण गर्न कार्ल माक्र्स र फेडरिक एङगेल्सले दास प्रथाभित्र पुँजीपति र सर्वहाराबीच वर्गसङघर्षले चर्को रुप लिन पुगेको उदाहरण दिए ।
पुँजीपतिहरुले आफ्नो चिहान आफै खन्ने काम गरेको र विश्वमा पुँजीवादको पतन र सर्वहारा वर्गले समाजवादी व्यवस्थाको स्थापना गरेर सम्पूर्ण राज्यको सम्पत्तिका मालिक बन्छन् र त्यतिबेला उनीहरूले आवश्यकतानुसार वस्तुहरुलाई उपयोगमा ल्याउन सक्ने व्याख्या गरे ।
जतिबेला साम्यवादको सुत्रपात गर्छन् त्यतिबेला सबै मानिसहरू सुखी सम्पन्न र समृद्धशाली हुन पुग्छन् र समाज बर्गबिहीन हुन पुग्छ भन्ने विचारको निष्कर्षमा पुगेका थिए ।
माक्र्सवादी धारणामा आर्थिक उत्पादन प्रणालीले पारिवारिक संरचनामा प्रभाव पारेको छ । समाज परिवर्तन नभइकन पारिवारिक संरचनामा परिवर्तन हुदैन । आर्थिक स्रोतमाथि पुरुषको नियन्त्रण हुनेहुँदा महिलाहरु पुरुषमा निर्भर रहनुपर्छ ।
पुरुषले आफ्नो सम्पत्तिको उत्तराधिकारी श्रीमतीलाई नबनाएर छोरालाई बनाउँछ र छोरीलाई बनाउँदैन भने पुरुषको आम्दानी प्राप्त गर्ने संयन्त्रका रुपमा महिलाहरु रहेका हुन्छन् । पुँजीवादी समाजमा महिलाहरु खेलौना र बजार प्रवर्धन गर्ने सामाग्रीका रुपमा रहेका हुन्छन् ।
विश्व इतिहासमा बीसौं शताब्दीको सबैभन्दा महत्तपूर्ण घटना सन् १९१७ को रुसको बोल्शेभिक क्रान्ति थियो । विश्वका महान् क्रान्तिहरुमा फ्रान्सेली राज्यक्रान्तिले समानता स्वतन्त्रता र विश्व बन्धुत्वको सन्देश दियो ।
स्वतन्त्रताको क्रान्तिले उपनिवेशवादमा नयाँ चुनौती ल्याइदियो । रसियाली समाजवादी क्रान्तिले सम्राट र शोषक सामन्त पुँजीपतिहरुको शासनलाई अन्त्य गरेर समाजवादी जनवादी गणतन्त्रको स्थापना गर्दै कुलीन घराना पुँजीपति र जमिनदारको शक्तिलाई समाप्त गरि मजदुर किसान हलि गोठाला भान्से सुसारे घरेलु कामदार श्रमिक मजदुर र सर्वहारावर्गको शासनसत्ता स्थापित गरि विश्वमा सर्वप्रथम समाजवादी शासनको सुत्रपात गरेको थिए । यसका लागि भ्लादिमियर इच लेनिनको र उनको पार्टीको ठुलो योगदान रहेको थियो ।
अक्टोबर क्रान्तिको फलस्वरूप विश्वको आधा भुभागमा समाजवादी शासनका निम्ति उथलपुथल ल्याइदियो । सन् १९१७ मा बोल्शेभिक क्रान्ति सम्पन्न भएर विश्वब्यापी रुपमा कम्युनिस्ट आन्दोलनको लहर आएको र एशिया महादेश पनि कम्युनिस्ट आन्दोलनको प्रवाहमा प्रवेश गरेको परिदृष्यमा बिसं २००६ साल बैसाख १० गते नेपाल पनि कम्युनिस्ट पार्टीको स्थपना भएको थियोे ।
नेपलका कम्युनिस्टहरुले २००७ सालको दिल्ली सम्झौता र त्यसपछिको कोसी र गण्डक सम्झौतालाई राष्ट्रघाती सन्धि सम्झौता भनी बिरोध गरेको थियोे । तर, नेपालको कम्युनिस्ट आन्दोलन युरोपको मजदुर आन्दोलन जस्तो रापतापबाट नभइ एउटा हुनेखाने मध्यम परिवारका केही बाठाटाढा भारतमा अध्यन गर्दे गरेका व्यक्ति र विशेषगरि बोल्शेभिक क्रान्ति र सन् १९२४ मा भएको मंगोलियाको समाजवादी क्रान्तिको प्रभावले कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।
नेपाली कम्युनिस्ट पार्टी स्थापनाको सुरुवाती चरणमा राजापरस्त र नेपाली कांग्रेसपरस्त दृष्टिकोण राख्ने सदस्यहरुको पनि उल्लेखनिय उपस्थिति थियो ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना भारतको कलकत्ताको श्यामबजारको बैठकले विधिपूर्वक पुष्पलाल श्रेष्ठलाई संस्थापक महासचिवमा निर्वाचित गर्यो जसमा निरंन्जन गोबिन्द बैध नारायण बिलास जोशी नरबहादुर कर्मचार्यको उपस्थिति रहेको थियोे । त्यस बैठकमा मोतीदेबी उपस्थिति थिइनन् । तर, उनलाई समितिमा राखेको पनि भन्ने गरिन्छ भने, कसैले उनलाई नराखेको पनि भन्ने गरेका छन् । यो विषय आजसम्म विवादित नै छ ।
तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारले डाक्टर केआई सिंहको विद्रोह दबाउने नाममा नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्धि लगाउने काम गर्यो । केही समयपछि केआइसिंहमाथिको प्रतिबन्ध फुकुवा भयो तर कम्युनिस्ट पार्टी माथिको प्रतिबन्धमा कायम रयो ।
पार्टी प्रतिबन्धको अवस्थामै पोलिटब्यूरोको बैठकले आन्दोलनको नेतृत्वदायी भुमिकामा रहेका पुष्पलाल श्रेष्ठलाई हटाएर मनमोहन अधिकारीलाई महासचिव बनायो ।
२०१७ साल पुस १ गते राजा महेन्द्रले गरेको सैनिक कु को विरुद्धमा वक्तव्य दिएर भारत निर्वासित भएका पुष्पलालले दरभङगा प्लेनममा विघटित संसदको पुनःस्थापनाको प्रस्थाप राखेका थिए। बिसं २०१९ साल बैसाख ४ गतेदेखि १५ गतेसम्म बनारसको मयुरगञ्जमा रहेको मोतिहलमा नेपाल कम्युनिस्ट पार्टीको तृतीय महाधिवेशन शुरु भयो ।
नेपालभरिबाट ८८ जना महाधिवेशन प्रतिनिधिहरुले भाग लिएको सो महाधिवेशनमा विश्व कम्युनिस्ट आन्दोलनमा देखा परेको रुस र चीनको विवाद त्यहाँ पनि देखा पर्याे । तुलसीलाल अमात्यको राष्ट्रिय प्रजातन्त्रको निकिता खुश्चेभ रुसी लाईन र पुष्पलाल श्रेष्ठले लिएको नयाँ जनवादी चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङको लाईन लिए । यसमा भोटिङ्ग हुँदा ८२ प्रतिशत मत तुलसीलाल अमात्य पाए । दुईमत पुष्पलाल श्रेष्ठले पाए भने एकमत मोहनबिक्रम सिंहका प्रतिनिधि बलराम उपाध्याय पक्षमा खसेको थियो ।
यही दिनदेखि नेपाल कम्युनिस्ट पार्टी विधिवत रुपमै टुटफुटको चरणमा प्रवेश गर्यो । कुनै बेला एकदर्जनसम्म नाम झुन्डाइएका कम्युनिस्ट पार्टी मध्ये संगठन र वैचारिक रुपमा आजको नेकपा एमाले पनि एउटा पार्टी हो । नेकपा एमाले को पुरानो लोकप्रिय साख अहिले खड्ग प्रसाद (केपी ) शर्मा ओलीले राजनीतिमा धन दौलतलाई महत्त्व दिदा यस दलको लोकप्रियता साफ भएको छ । दलका नेताहरुको आचरण र नैतिक बल नै भविस्यमा भौतिक बलमा परिणत हुने हो ।
नैतिक पतन भएको जतिसुकै शक्तिशाली व्यक्ती वा दल पनि त्यो लामो समय टिक्न सक्दैन । मनमोहन अधिकारी र मदनकुमार भण्डारीको समयको एमाले पार्टी अहिले आएर सिस्नुपानी नेपालले खेलेको देउसी भैलोसँग त्रसित हुनुपरेको छ ।
त्यसैगरी श्रमजीवी सर्वहारावर्गको राज्यसत्ता स्थापित गर्छौ भन्दै दसवर्ष सशस्त्र जनयुद्ध लडेको पार्टी नेकपा माओवादी आज टुक्राटुक्रामा भिाजित छ ।
पटक पटक सत्ताको चास्नी खाएको नेकपा माओवादी केन्द्र पनि विभिन्न काण्डबाट मुक्त हुने सकेन । पार्टीका नेताकार्यकर्ता सुनकाण्ड लगायत अन्य भ्रष्टचार सम्बन्धि काण्डले अस्तित्वको लडाइमा छदैछ ।
बाँकी रहेका कम्युनिस्ट पार्टीहरुको अवस्था पनि नाजुक छ । उनिहरु कार्य समितिमै सिमित छन् । कार्यकर्ताको व्यापक खडेरी छ ।
संसारका कम्युनिस्टहरुको एकमात्र उदेश्य ‘क्युवाली समाजवादी नेता फिडेल क्यास्त्रोले भनेजस्तै “कि समाजवाद, कि मृत्यु रोज्नुपर्छ” भनेझै हुनुपर्छ ।
नेपाली कम्युनिस्ट आन्दोलनको विकल्प भनेको सबै कम्युनिस्ट पार्टीहरु एक ठाउँ उभिनु नै हो । जनताको न्याय र संमृद्ध नेपाल परिकल्पना साकार पार्नु हो । पार्टी फुटाएर झुन्डकाे मुखिया बन्ने र सत्ताको चास्नीमा डुब्ने मात्रै हो भने विश्व कम्युनिस्ट आन्दोलनमा यो भन्दो ठुलो कलङ्क अर्को हुनसक्दैन ।