असार २५, काठमाडौं । प्युठानको ऐरावती गाउँपालिका–६, काल्नेकी ३० वर्षीया जिवा विकलाई शनिबार साँझ सुत्केरी व्यथा सुरु हुँदा बाहिर झमझम् पानी परिरहेको थियो ।
तीनदिन अघिबाटै जिवाको तल्लो पेट दुखिरहेको थियो । तर, एक्कासी त्यसरी च्याप्ला भन्ने सोचेकी थिइनन् । पालिकामा गर्भवती भएका महिलाहरुलाई स्वास्थ्यकर्मीहरु नियमित निगरानीमै राखेका हुन्छन् । त्यो साँझ पनि पेट अलि बढ्तै दुख्न थालेपछि स्वास्थ्यकर्मीलाई सम्पर्क गरिन् । उनीहरुले जिवालाई स्वास्थ्यचौकीमै आउन आग्रह गरे ।
बाहिर झरी रोकिएको थिएन । रात परिसकेकाले गाडीमा स्वास्थ्यचौकीमा जाने सम्भावना पनि थिएन । माइती घरबाट उनी ३ वर्षको छोरो र आमासहित करिब साढे दुई किलोमिटर टाढा मल्लरानी गाउँपालिका–३, धरमपानीमा रहेको स्वास्थ्य चौकीमा पुगिन् । उनी स्वास्थ्यचौकी पुग्दा रातको ८ बजिसकेको थियो ।
त्यसैदिन राति करिब १० बजे सामान्य अवस्थामा छोरीलाई जन्म दिइन् । सुत्केरी भएको २४ घण्टासम्म आराम गरेपछि स्वास्थ्यकर्मीहरुले उनलाई घर जान सल्लाह दिए । तर पानी परिरहेकाले गाडी चलेका थिएनन् । उनलाई बोकेर घरसम्म लैजान गाउँका अरु कोही तयार भएनन् । त्यसपछि स्वास्थ्यकर्मीहरुले नै स्टेचरमा बोकेर उनको घरसम्मै पु¥याइदिए ।
‘स्वास्थ्य चौकीमा गाउँका अरु मान्छेहरु पनि थिए । उनीहरुलाई घरसम्म पु¥याइदिनुस् भनेर अनुरोध गर्दा पनि कोही तयार भएनन्,’ जनस्वास्थ्य निरीक्षक (अधिकृत छैटौं) टुकाराम पोख्रेल भन्छन्, ‘त्यसपछि खाजा खाने समयमा हामीले नै बोकेर उहाँको घरसम्म पु¥याइदियौं ।’
जनस्वास्थ्य निरीक्षक पोख्रेलसहित, अहेब मुना केसी, अनमी पार्वता पुन, ल्याब असिस्टेन्ट शान्ता पुन र कार्यालय सहयोगी नमा पौडेलले जिवालाई पालैपालो बोकेका थिए । भिडियोमा उनीहरुले कहिले खालीखुट्टा त कहिले चप्पल लगाएर सुत्केरी बोकेर हिँडेको देखिन्छ ।
जिवा विक मल्लरानी–२ को स्याला भन्ने ठाउँबाट हालैमात्र बसाइँ सरेर ऐरावती गाउँपालिकामा आएकी थिइन् । उनका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । त्यसैले उनी माइतमा बस्दै आएकी थिइन् ।
स्वास्थ्य चौकीमा २४ घण्टे प्रसूति सेवा उपलब्ध छ । त्यहाँ सात जनाको जनशक्ति छ । तर जनस्वास्थ्य निरीक्षक पोख्रेल एक मात्र पुरुष कर्मचारी हुन् । अहेब, अनमी, ल्याब असिस्टेन्ट, कार्यालय सहयोगी सबै महिला रहेका छन् ।