काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले विश्वासको मत फिर्ता लिने निर्णय गरेको हो ।
‘विश्वासको मत फिर्ता लिएका छौँ । अब प्रतिपक्षमा बस्ने निर्णय भएको छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।
सरकारसँग रास्वपाले चारवटा सर्त राखेको थियो । तर सर्त पूरा नहुने भएपछि सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको हो । गत ६ चैतमा दोस्रोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले विश्वासको मत दिएको थियो ।
१० पुसकाे गठबन्धनमा एमालेसँगै रास्वपा उपप्रधानमन्त्री लिएर सरकारमा सहभागी भएकाे थियाे । तर नागिरकता प्रकरणमा पार्टी सभापति रवि लामिछानेले पद गुमाएपछि मन्त्रीलाई फिर्ता बाेलाएकाे थियाे । सरकारलाई दिएकाे समर्थन भने कायमै राखेकाे थियो ।
उपचुनावपछि परिवर्तित अवस्थामा उसले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे हाे । रास्वपाले समर्थन फिर्ता लिँदैमा गणितीय रुपमा प्रचण्ड सरकारलाई कुनै समस्या भने पर्दैन । किनकि हालकाे सत्ता गठबन्धनसँग स्पष्ट बहुमत छ ।