काठमाडाैं । महोत्तरीको भँगाहा नगरपालिका–८ पररियामा बिहीबार भएको झडपमा संलग्न समुदाय र स्थानीय प्रशासनबीच ८ बुँदे सहमति भएको छ ।
पररियामा हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपमा १५ जना भन्दा धेरै घाइते भएपछि बिहीबार ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।
शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि ८ बुँदे सहमति भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए ।
जसमा असमझदारी र झडपको स्थितिलाई नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न घटनामा सम्बद्ध दुबै पक्षलाई र आम नागरिकलाई आह्वान गर्ने सहमति भएको छ ।
घटनामा भएको धनजनको क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिको लागि सिफारिस गर्न टोली गठन गर्ने, घाइतेको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई अनुरोध गर्ने सहमति पनि भएको छ ।
त्यस्तै घटनाको छानबिनका लागि उच्चस्तरीय टोली गठन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने, घटनामा संलग्न दोषी पत्ता लगाई कानुनी प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ ।
पररिया क्षेत्रमा सामाजिक सद्भाव कायम गर्न र्याली निकाल्ने, दलगत रुपमा शान्ति कायम गर्न अपिल गर्ने पनि सहमति भएको छ ।