काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ १७ गते भारत भ्रमण गर्ने भएका छन् ।
दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म हुने लागेको आज प्रकाशित विभिन्न पत्रपत्रिकाले समाचार बनाएका छन ।
तर भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक भने भइसकेको छैन । सञ्चारमाध्यमहरुले भने प्रधानमन्त्रीको भारण भ्रमण जेठ १७ देखि २० गतेसम्म हुने जनाएका छन् ।
नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे जानकारी दिन प्रेस रिलिज सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले गत वैशाखमै भारत भ्रमणको तयारी गरेका थिए । तर नक्कली भुटानी शरणार्थी प्रकरण र नयाँ बजेटको तयारी लगायतका कारण उनले भ्रमणको मिति पछि सारेका थिए । जेठ १५ गते बजेट सार्वजनिक भएपछि १७ गते उनी भारत जाने तय भएको हो ।