वैशाख १० को उपनिर्वाचनका सन्दर्भमा आज चितवनमा सत्तारुढ चार दलको संयुक्त आमसभा हुँदैछ । दिउँसो ३ बजे कालिका नगरपालिका ४ पदमपुरस्थित क्याम्पस फुटबल मैदानमा गठबन्धनको आमसभा तय हुने लागेको । आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसहित अन्य तीन पूर्व प्रधानमन्त्री जाँदैछन् ।
सभालाई प्रधानमन्त्रि प्रचण्ड सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सहभागी हुँदैछन् । चुनावीसभामा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेता शेखर कोइराला पनि सहभागी हुनेछन् ।
चितवन २ बाट गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका थिए ।
नागरिकतासम्बन्धी मुद्दामा अदालतले रविको नागरिकत अवैध ठहर गरेसँगै उनको सांसद पद खारेज भएको थियो । रविको पद गएसँगै रिक्त भएको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । चितवन २ मा रविसहित विभिन्न दलकासहित २२ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये सबैभन्दा बढी चर्चा रास्वपा, नेकपा एमाले, र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका साझा उम्मेदवारको छ ।
नागरिकता पुनर्प्राप्तिपछ रविले पुनः यहाँबाट उम्मेदवारी दिएका छन् । नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र कांग्रेसले पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।