साउन १९, काठमाडौ । पुख्यौली थलो छोडेर पोखरा पुगेको हायू परिवार सिन्धुली फर्किएको छ ।
सिन्धुली गोलन्जोर गाउँपालिका–६ का अध्यक्ष रविनकुमार श्रेष्ठ पोखरा पुगरे आफ्नै घरमा राख्ने बताएपछि हायू परिवार सिन्धुली फर्किन राजी भएको हो ।
हायू परिवारलाई लिन वडाध्यक्ष श्रेष्ठ स्वयं पोखरा महानगरपालिकाका–३० गगनगौंडा पुगेका थिए । उनीहरूलाई महानगर प्रमुख धनराज आचार्यले विदाइ गरे । उर्मिला हायुका ६ छोरा, ६ छोरी, एक बुहारी, २ ज्वाइँ, ३ नातिनातिना र बुहारीका २ भाइ बहिनी गरी २१ जना सिन्धुलीतर्फ लागेका हुन् । तीमध्ये गगनगौंडामा नै यसअघि बस्ने छोरा, ज्वाइँ र एक नातिनी भने पोखरा नै फर्किने छन ।
हायू परिवारलाई तत्काल वडा अध्यक्षको पुरानो घर सुगुरेमामा राख्ने वडाध्यक्ष श्रेष्ठले बताए । विस्तारै आर्थिक सहयोग जुटाइ दिगो व्यवस्थापन गरिने उनले बताए । सुंगुरेबाट विद्यालय १५ मिनेटको दूरीमा रहेका कारण बालबालिका स्कुल जान समेत सहज हुने छ ।
गोलन्जोर–६ छेत्पा बिखारकटेरीमा बस्दै आएका हायू परिवार तीन दिनदेखि घरबाट हराएको खबर साउन १२ मा बाहिरिएको थियो । त्यसै दिन राति उनीहरु पोखरा–३० गगनगौंडामा दुई स्थानीयको घरमा ६ वटा कोठा भाडामा लिएर बसेको अवस्थामा भेटिएका थिए । बसिरहेको घरजग्गा पनि आफ्नो नरहको, विद्यालय, अस्पताल टाढा भएको, परिवारका सदस्य विरामी भइरहने र घरमा समेत बस्न डर भएकोले पोखरा आएको उनीहरुले बताउँदै आएका थिए । उनीहरुको आफ्नै जग्गा भने छेत्पाबाट ३ घण्टामाथिको गाउँमा छ ।
उनीहरू घरमा रहेका भैंसीलाई गोठमा बाँधेर, कुखुरा, बाख्रालाई खोरमै थुनेर कसैलाई पत्तो नदिई सिन्धुलीबाट पोखरा पुगेका थिए ।