काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सेटिङमा भिजिट भिसामा नेपाली विदेश पठाउने गतिविधिमा संलग्न पाएपछि अध्यागनका हाकिम पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा विमानस्थलमा पैसा लिएर फर्जी कागजातका आधारमा नेपाली नागरिकलाई विदेश पठाइने अनुसन्धानका क्रममा खुलेको हो ।
विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईकै संलग्नता देखिएपछि आयोगले उनलाई पक्राउ गरेको छ । हाल आयोगको टंगालस्थित कार्यालयको नियन्त्रणमा राखिएका उनको मोबाइल समेत जफत गरिएको छ । मोबाइलमार्फत् उनको मानव तस्कर गिरोहसँग संलग्नताबारे थप प्रमाणहरू खुल्ने अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन ।
प्रारम्भिक अनुसन्धानमा उनले साउदी, यूएई र कुवेत जाने महिलालाई ‘एल’ र पुरुषलाई ‘एस’ कोड दिएर अध्यागन जाँच पार गराउने गरेको पाइएको जनाइएको छ । विमानस्थल अध्यागमनमा २४ घन्टा ड्यूटी हुने भएकाले तीन समूहमा कर्मचारी खटाउने गरिन्छ । त्यसमा हरेक समूहका प्रमुखसँग समेत मिलेमतो हुने आशंका गरिएको छ ।
यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालयले समेत फर्जी कागजातका आधारमा लेनदेनमा भिजिट भिसामा विदेश पठाएको आरोपमा कार्यालयका अधिकृतहरूलाई पक्राउ गरेको थियो । त्यसबेला नरविर खड्कालाई प्रहरीले विमानस्थलबाहिर होटल बाल्टिकबाट नगदसहित पक्राउ गरेको थियो । त्यसक्रममा ६६ जना युवाको सूची समेत फेला परेको थियो ।
अनुसन्धानमा एक अधिकारीका अनुसार, पछिल्लो समय यूएई, साउदी अरब भिजिट भिसामा पठाउन ५० देखि ७५ हजार रुपैयाँ प्रतिव्यक्तिसम्म संकलन गर्ने गरिएको थियो भने यूरोप जानलाई ३ देखि ४ लाख रुपैयाँसम्म लिने गरिएको थियो ।