– टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को क्लब ग्रोथ डाईरेक्टरमा दिप्ती आचार्य निर्वाचित
दिल्ली, मे २०२५: नेपाल र उत्तर भारत सम्मिलित डिस्ट्रिक्ट ४१ को वार्षिक तीन दिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा गुरगाउँ, मेरिडियन, दिल्ली एनसिआरबाट डिस्ट्रिक्ट ४१ का टोस्टमास्टर्सहरु भेला भएका थिए ।
डिस्ट्रिक्ट ४१ द्वारा आयोजित सम्मेलनमा तीन सयभन्दा बढी सहभागीहरूको उपसस्थिति रहेको थियोे । नेपालकी मुनाल प्रधानले डिस्ट्रिक्ट डाइरेक्टरका रुपमा सो सम्मेलनको अध्यक्षता गरेकी थिइन ।
उक्त सम्मेलनमा सन् २०२५ जुलाईदेखि २०२६ का लागि टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ का लिडरहरूको चयन गरियोे । सम्मेलनले क्लब ग्रोथ डाईरेक्टरमा नेपालकी दिप्ती आचार्यलाई निर्वाचित गर्यो । त्यस्तै डिस्ट्रिक्ट डाईरेक्टरमा भारतका गौरव चौधरी र कार्यक्रम गुणस्तर डाईरेक्टरको रूपमा श्वेतांक शर्मा निर्वाचित हुनु भयो ।
उक्त सम्मेलनमा टेवल टपिक्स र अन्तर्राष्ट्रिय बक्तृत्वकला प्रतियोगिताहरू पनिआयोजना गरिएको थियो । टेवल टपिक्स बक्तृत्वकलामा नेपालकी सम्पदा रेग्मी प्रथम, साहिल बराल दोस्रो र देवांश तेस्रो भए । त्यसैगरी अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा, नेपालकी संस्कृति आचार्य प्रथम, श्रेया जैन द्वितीय र प्रसन्न श्रेष्ठ तृतीय भए ।
त्यस्तै कार्यक्रममा सन् १९९९ विश्व पब्लिक स्पिकिंग च्याम्पियन क्रेग भ्यालेन्टाइनले वक्तृत्वकला सम्बन्धित तालिम दिए भने प्राध्यापक डा. नीरजा पाण्डेले “नेतृत्वको जीवनमा महत्व” तथा “प्रभावकारी प्रस्तुति“ सम्बन्धित विषयमा बोल्नु भएको थियो ।
प्रेरणादायी मन्तब्यहरु, उच्च क्षमताका प्रतियोगिताहरु र नयाँ नेतृत्व चयनका साथटोस्टमास्टर्सका सञ्चारसम्बन्धी मूल्यहरूको उच्च सम्मान गर्दै सम्मेलन सम्पन्न भयो ।
नेपालबाट विजयी भएकी संस्कृति आचार्यले अब क्षेत्रीय प्रतिस्पर्धामा भाग लिनेछिन् र सो प्रतिस्पर्धामा विजयी भएमा उनी विश्व वक्तृत्वकलाको फाइनलमा पुग्ने छिन् ।