- भोजराज घिमिरे
नेपाल उत्तर चीन र दक्षिणमा भारत जस्ता आर्थिक तथा राजनीति रुपमा पनि सक्षम शक्तिशाली देशसँगको सन्तुलित सम्बन्ध कायम गरि राष्ट्रिय हितको रक्षा गर्नुपर्ने अवस्थामा छ । देशको आर्थिक आधार नै पुँजीवादी आर्थिक संरचना पुर्वाधारमा खडा भएको छ ।
बर्तमान नेपाली समाजमा पनि अनेकौं आन्तरिक र बाहय अन्तरबिरोधहरु छन । यस्तैखाले आन्तरिक र बाहय शक्ति सन्तुलनलाई मिलाएर नेपालको पछिल्लो संविधान २०७२ मै उल्लेख गरिएको समाजवाद उन्मुख राज्य व्यवस्थालाई जतिसक्दो कार्यनयनमा ल्याउन सबै राजनीतिक दलको उत्तिकै दायित्व रहन्छ ।
नेपालको सत्ता वरिपरि रहेका वामपन्थि दलहरुले समाजवादी व्यवस्था स्थापना गर्ने लक्ष्यलाई संक्रमणकालीन अवस्था हो भनेर पन्छिने अवस्था छैन । देशको सबै अङ्गमा रहेका राणाकालीन देखि पञ्चायती हुदै राजासहितको बहुदलीय संसदीय व्यवस्थाका पुराना मक्किसकेका संरचनालाई परिवर्तनगरि जनताको सहज पहुँचका लागि नयाँ संरचना स्थापना गर्न ढिला गर्न हुदैन ।
युरोप लगायत दक्षिण एशिया र अन्य प्रमुख देशमा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्था रहदा रहदैपनि नेपालमा भने कम्युनिस्ट आन्दोलनप्रति अझै जनसमर्थन मरिसकेको छैन ।
स्थानिय तथा संसदीय निर्वाचनमा वामपन्थि भनिएका दलहले प्राप्त गरेको भोटको संख्या राम्रै छ । यो जनसमर्थनलाई सम्मान गर्दै जनताको हितमा अगाडि बढ्न नेतृत्वको भुमिकामा बसेका नेताको व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने आम जनता र शुभेच्छुकहरुको चाहाना रहेको छ ।
वर्गीय अन्तर्विरोधमा दलाल पुँजीवाद र व्यापक जनताबिचको अन्तर्विरोध छ, भने अर्को राष्ट्रिय पुँजीवाद र श्रमिक जनतावीचको अन्तरबिरोध छ । यी दुई वर्गीय अन्तरबिरोध मध्ये राष्ट्रिय पुँजीपति वर्गसँग श्रमिक जनताको अन्तर्विरोधका दुईवटा पाटा छन । यसले पनि श्रमिक वर्गको श्रम शक्तिको शोषण नगरी अतिरिक्त पुँजी कमाउन सक्दैन । त्यसैले यो वर्गीय अन्तर्विरोध चर्कदै जानु स्वभाविक छ ।
निम्न पुँजीपति वर्गका व्यापक जनसमुदायहरु किसान, र आम श्रमिक वर्गकाबिचमा पनि वर्गीय भिन्नताहरु छन । पुँजीवादी उत्पादन सम्बन्धका कारणले उनीहरूबीच पनि सामान्य भिन्नताहरु छन । ति भिन्नताहरु आफैमा अन्तर्विरोध हुन ।
अठारौं शताब्दीपुर्व विश्वमा विभिन्न किसिमले समाजवादको परिकल्पना भएतापनि समाजवादको वास्तविक पिता भनेर जर्मनीका दार्शनिक कार्ल माक्र्सलाई मानिएको छ ।
अठारौं शताब्दी भन्दा पहिले नै सम्पत्तिको अधिकारको विषयलाई विबिध आदर्शवादी कल्पनाले तयार पारिए पनि त्यसलाई बैज्ञानिक तथा व्यवहारिक समाजवादको रुपमा कार्ल माक्र्सले नै तयार गरेका थिए । उनले पुँजीपति र मजदुर वर्गकाबिचको पारस्परिक द्वन्दले पुँजीवादी ब्यवस्था ध्वस्त हुन्छ र श्रमिकहरुको श्रमको प्रयोगको हिसाबमा हुने मुल्य निर्धारणको विषयलाई विभिन्न तरिकाबाट ब्याख्या विश्लेषण गरेका छन ।
संकुचित अर्थमा समाजवाद भनेको भौतिक साधन र उत्पादनमाथि सार्वजनिक स्वामित्व प्राप्त गर्नु हो भन्ने बुझिन्छ । समाजवाद त्यस्तो आर्थिक प्रणालीको नाम हो जसमा उत्पादनका भौतिक साधनहरुको स्वामित्व र व्यवस्थापन राज्यको जिम्मा हुन्छ । राज्यबाट उत्पादन गरिने साधन स्रोतहरुको उपयोग र वितरण निजी फाइदाको लागि नभएर सम्पूर्ण समाजको भलाईका लागि गरिएको हुन्छ ।
विश्वमा विविध नाम गरेका समाजवादी अवधारणाहरुको सुत्रपात भएको छ । ती सबै समाजवादको नामकरण समाजवादी विद्धान एवं चिन्तकहरुले गरेको छन् ।
त्यस्ता समाजवादी अवधारणा तथा मोडेलहरुमा
१)अटोपियन समाजवाद
२) बैज्ञानिक समाजवाद
३) राज्य समाजवाद
४) फेबियन समाजवाद
५) गिल्ड समाजवाद
६) सिन्डिकेटिज्म समाजवाद
७) साम्यवादी समाजवाद
८) उदारवादी समाजवाद
९) सत्तावादी समाजवाद
१०) बिकासवादी समाजवाद
११) क्रान्तिकारी समाजवाद
पर्दछन् ।
नेपालको लागि उपयुक्त समाजवाद कुन हो र यस विषयमा नेताहरु किन मौन छन ?
नेपालको सन्दर्भमा समाजवाद उन्मुख भन्नुको अर्थ देशको आर्थिक , सामाजिक रुपान्तरणको पहिलो पाइला हो ।
त्यसका लागि नेपालको राज्य व्यवस्थामा दलाल पुँजीपति वर्गको अधिपत्यलाई सम्पुर्ण रुपले अन्त्य गरेर श्रमिक वर्गको नेतृत्वमा व्यापक जनसमुदायको उपस्थितमा बैज्ञानिक समाजवादी गणतन्त्रको सहितको क्रान्तिकारी सरकार गठन गरिनुपर्छ ।
यही मात्रै एउटा नेपाल र नेपाली जनताको हितकालागि उपयुक्त व्यवस्था हुनसक्र्दछ ।