- भोजराज घिमिरे
कम्युनिस्ट मार्क्सवादी दलको सिद्धान्त भनेकै पुरानो संरचनालाई ध्वस्त पारेर नयाँ जनपक्षीय आधार स्तम्भ खडा गर्नु हो ।
बुर्जुवा सामन्ति व्यवस्था ढालेर नयाँ आर्थिक सामाजिक साँस्कृतिक शैक्षिक र अन्य जनताको हितका विषयवस्तुलाई एकीकृत ढंगले जनताकाे पहुँचमा पुर्याउनु हाे ।
मार्क्सवादले समाजको एउटा वा दुईवटा पक्षलाई वा क्षेत्रलाई मात्र सुधार गर्ने कुरा गर्देन । यसले समाजको चौतर्फीक पक्षमा आमूल परिवर्तन गरी नयाँ प्रगतिशील सामाजिक आर्थिक रुपान्तरण स्थापना गर्ने हो ।
यतिबेला हामी दलाल पुँजीवादी व्यवस्थामा रुमिलिएका छौ । हिजोको समाज सामन्ती समाज थियो । ०६३ सालको राजनीतिक परिवर्तन र १० वर्षे सशस्त्र युद्धबाट नेपाली समाजको वर्गीय संरचनामा केही परिवर्तन त भयो तर किसान मजदुरकाे पक्षमा हुनसकेन । दलाल अवसारवाद झन चर्कोरुपमा हावी भयो ।
हिजो सामन्तवर्ग देशको नेतृत्वदायी भुमिकामा थियो । अहिले त्यो वर्ग करिब करिब समाप्त भएको छ । सामन्तवादको स्थानमा दलाल पुँजीवाद हावी भएको छ ।
वर्तमान पुँजीवादी उत्पादन प्रणालीमा नेपाली श्रमशक्ति कथित मेनपावरका नाममा दलाल मार्फत किनबेच गरिने मालवस्तुका रुपमा परिणत भएको छ । गरिबी र बेरोजगारले गर्दा दलाल मार्फत आफ्नो श्रमशक्ति बेच्न बाध्य पारिएको छ । अरबका खाडीमा श्रम बेच्नु बाहेक उसँग अर्को विकल्प पनि छैन ।
चाहे नेपालमा होस चाहे अन्यत्र, नेपाली श्रमिक स्वतन्त्रताका बाबजुदपनि पुँजीपति वर्गको शरणमा छ । शासकहरुले उसलाई अति नै सस्तो मुल्यमा श्रम बेच्न बाध्य पारेका छन् । किनकिन स्वदेशमै स्वरोजगार हुने आधार नामेटपारी हरेक क्षेत्रमा दलाल पुँजीवादलाई मलजल गरिएको छ ।
त्यसैले त भनिन्छ पुँजीवादी उत्पादन प्रणालीमा श्रमिक वर्ग व्याक्ति विशेषको होइन सिङ्गो पुँजीपति वर्ग र पुँजीको दासत्वमा परेको हुन्छ ।
आजको हाम्रो अवस्था भनेको करिव २३० वर्ष अघिको बेलायतका मजदुरहरुको जस्तै अवस्था हो ।
त्यहाँ भएको औधोगिक क्रान्ति र पुँजीवादी क्रान्तिले मान्छेको जीवन पद्धतिमा धेरै परिवर्तन ल्याई दियो । देशको सम्पुर्ण सम्पत्ति कारखानाका साहु पुँजीपति व्यापारी बैंकपतिहरुको कब्जामा गए जसरी वर्तमान नेपालको पँजी सिमित उद्योगपति र निजी बैंकपतिहरुसँग छ । तर त्यहाँ काम गर्ने मजदुरहरुलाई मेसिनको पार्टपुर्जालाई जस्तै व्यवहार गरेर काममा जोताउछन । श्रम अनुसारको ज्याला दिदैनन् ।
अब नेपाली कम्युनिस्टहरुले समाजवादी क्रान्ति गर्नुपर्छ । त्यसका लागि समाजवादी क्रान्ति सारभुत रुपमा नै बिगतमा मानव समाजमा भएका यावत क्रान्तिकारी परिवर्तनहरुभन्दा भिन्न चरित्रको सामाजिक क्रान्ति हुनुपर्छ । त्यसको लक्ष्य भनेको शोषणकारी पुँजीवादी सामाजिक आर्थिक संरचनालाई पुर्णरुपमा निषेध गरिनुपर्दछ । वर्गीय शोषण बिहिन समाजवादी आर्थिक सामाजिक संरचनामा समाजलाई प्रवेश गराउनुपर्दछ ।
मार्क्सवादी सिद्धान्तका आधारमा पुँजीवादको उन्मूलन र साम्यवाद प्राप्तिको बीचमा एउटा संक्रमणकालिन सामाजिक अवस्था हो र समाजवाद विश्वव्यापी रुपमा साम्यवादमा संक्रमणको पहिलो चरण हो ।
सामाजिक संगठनको राजनीतिक र आर्थिक सिद्धान्त भनेको जसले उत्पादन बितरण र बिनियमका साधनहरु समग्रह समुदायको स्वामित्वमा वा बिनिमित हुनुपर्छ भनी वकालत गर्दछ त्यही हो मार्क्सवाद ।
अहिले हामी एक वास्तविक दलाल पुँजीवादी भित्रका लोकतान्त्रिक र बहुलवादी विचारलाई मान्दै आएका बामपन्थी मात्रै हौ, कम्युनिस्ट माक्र्सवादी होइनौं ।
जसले कार्ल मार्क्स र फेडरिक एङगेल्सद्धारा प्रतिपादन गरेको समाजवादको लक्ष्य मानेको छैनौ अनि दलाल पुजाीवादको संरक्षण गर्ने प्रवृत्तिलाई कसरी कम्युनिस्ट समाजवादी भन्ने ?
समाजवादको लक्ष्य भनेको यस्तो समाज निर्माण गर्नु हो जसमा स्रोत र साधनमाथी सबैको समान पहुँच पुग्न सकोस । समाजवादी अर्थतन्त्रमा सामुहिक स्वामित्वको सिद्धान्तमा आधारित हुनुपर्छ । यसको अर्थ जग्गा जमिन कलकारखाना र व्यवसाय जस्ता समाजका स्रोतसाधनहरु व्याक्तिको हुने छैनन् । तिनीहरू समुदायको स्वामित्वमा हुनेछन् ।
समाजवाद र पुँजीवादबीचको भिन्नता यहि हो ।
पुँजीवाद व्यक्तिगत पहलमा आधारित भई उच्च नाफाका लागि प्ररित हुन्छ । यस्तो व्यवस्थामा सरकारी हस्तक्षेपका नाममा बजार संयन्त्रलाई नै समर्थन गरेको पनि हुन्छ ।
समाजवादी अर्थतन्त्र भनेको एक उत्पादन प्रणाली हो । जहाँ बस्तु र सेवाहरु प्रत्यक्ष रुपमा प्रयोगको लागि उत्पादन गरिन्छ ।
पुँजीवादी आर्थिक प्रणालीको बिपरित समाजवादमा माल बस्तुको उत्पाद सामुहिकताको हितमा विस्तार गरिन्छ । समाजवादी सिद्धान्त र आदर्शमा बस्तु उत्पादन गर्नु नाफाको लागि भन्दा पनि प्रयोगको लागि हुनेछ । यसले बजारमा थप प्रतिस्पर्धी र खरिद बिक्री हुदैन र बस्तु र सेवामा निशुल्क हुनेछन् ।