काठमाडौँ । हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका काभ्रेपलाञ्चोकका विजय तामाङलाई नेपाल मेडिकल कलेज(एनएमसी)का चिकित्सकले नयाँ जीवन दिएका छन् ।
मुटु रोग विशेषज्ञ डा.अर्जुन बुढाथोकीको नेतृत्वमा रहेको टोलीले उनलाई सफलतापूर्वक बचाएको हो ।लामो समयदेखि रक्सी तथा चुरोट सेवन गर्दै आइरहेका तामाङलाई साउन २६ गतेदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि काठमाडौँ ल्याइएको थियो
सुरुमा पाटन अस्पताल र शहीद गंगालाल हृदय केन्द्रमा भेन्टिलेटर तथा आईसीयू खाली नभएपछि, र निजी अस्पतालको खर्च धान्न नसकेपछि उनलाई नेपाल मेडिकल कलेज ल्याइएको थियो ।
केएमसी पुग्दा उनको स्वास्थ्य अवस्था अत्यन्त जटिल थियो र डाक्टरहरूले बाँच्ने सम्भावना २० प्रतिशत मात्रै रहेको चिकित्सकहरूले बताएका थिए ।
डा.बुढाथोकीको टोलीले तामाङलाई मुटुको औषधी, दुई पटक डायलाइसिससहित सघन उपचार कक्ष अर्थात आईसियूमा राखेर १० दिनसम्म उपचार गरिएको अस्पतालले जनाएको छ ।
यस अवधिमा उनको मिर्गौलामा पनि समस्या देखिएको थियो । लगातारको उपचारपछि उनको स्वास्थ्यमा क्रमिक सुधार आयो र अस्पतालले उनलाई डिस्चार्ज गरिसकेको छ ।
मृत्युको मुखबाट जोगिएका विजय तामाङले अब रक्सी सेवन नगर्ने प्रतिबद्धता जनाउँदै नेपाल मेडिकल कलेजका चिकित्सक र नर्सहरूलाई धन्यवाद दिएका छन् ।
डा. बुढाथोकीले ब्लड प्रेसर, सुगर, मद्यपान, धुम्रपान, शारीरिक व्यायामको कमी र चिल्लो पदार्थको अधिक सेवनले मुटु रोगको जोखिम बढाउने भन्दै स्वस्थ जीवनशैली अपनाउन सल्लाह दिएका छन् ।
नेपाल मेडिकल कलेजले निकट भविष्यमा मुटु रोगको उपचारका लागि अत्याधुनिक क्याथल्याब स्थापना गर्ने योजना पनि जनाएको छ ।