बाजुरा । बाजुराकाे मार्तडीघटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका–२ खडीगाडमा आइतबार बेलुकी ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
बडीमालिका नगरपालिका–२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडामा बस्ने ३३ वर्षीया करिष्मा रोकाया, सोही नगरपालिका–१ बस्ने ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका–६ बस्ने ३० वर्षीय ट्याक्टर चालक हिक्मत रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।
मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको लु ४ त ७३०५ र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टरले एकअर्कालाई उछिन्न खोज्दा दुबै ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएकाे छ । लु ४ त ७३०५ नम्बरको ट्याक्टर सडकको माथि पट्टी दुर्घटना भएको र सुपप्र ०१००२ त ४१०५ ट्याक्टर खडीगाड खोलामा खसेको थियो ।
लु ४ त ७३०५ ट्याक्टर दुर्घटना भए पनि त्यसमा सवार मानवीय क्षति नभएको र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टर चालकसहित चार जनाको मृत्यु भएकाे जनाइएकाे छ ।
मृतकको सनखात गरेर जिल्ला अस्पताल बाजुरामा ल्याउन लागिएको प्रहरीले बताएको छ । दुईवटै ट्याक्टरमा चार/चार सवार रहेका थिए ।