फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।
समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २-० ले पराजित भएको हो । १३ हजार भन्दा बढी दर्शकमाझ घरेलु मैदानमा नेपालले यमनविरुद्ध सन्तोषजनक प्रदर्शन गर्न सकेन ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा यमनलाई जित दिलाउन वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ओमार अब्दुल्लाह अल-दाही र मोहम्मद अब्दुल्लाह अल-दाहीले दोस्रो हाफमा गोल गरे ।
ओमारले ७२ औं मिनेटमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । उनले नेपाली लेफ्ट ब्याक आशिष चौधरी उपचारका क्रममा मैदान बाहिर रहँदा गोल गरेका थिए ।
यस्तै मोहम्मद अब्दुल्लाह अल-दाहीले खेलको अन्त्यतिर गोल गर्दै यमनको जित पक्का गरे ।
दोस्रो चरणको छनोटमा यमनको यो पहिलो जित हो । यमनले दुई खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा यमन बहराइनसँग २-० ले पराजित भएको थियो । पहिलो खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको थियो ।
दुई खेलपछि नेपाल समूह एचमा अंकविहीन छ ।