काठमाडाैं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ ।
४६ वटा अंगिक क्याम्पस सहति अरु सम्बन्धन प्राप्त क्याम्पसमा पनि आज चुनाव हुन लागेको छ । मतदान बिहान ८ बजेदेखि ४ बजे सम्म हुनेछ । १३ वटा आंगिक क्याम्पसमा चुनावी प्रक्रिया रोकिएको छ ।
‘रोकिएका क्याम्पसमा सहमतिको प्रयास भइरहेको छ । १५ दिनभित्र चुनाव गराउन भनेका छौं,’ त्रिवि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले भने ।
त्रिविको ६४ वटा अंगिक क्याम्पस र एक हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । २०७९ मा ५० वटा आंगिक र ३०० बढी सम्बन्ध प्राप्त क्याम्समा चुनाव भएको थियो ।
विद्यार्थी संख्या २०० जनासम्म भएका प्रत्येक क्याम्पसमा ११ सदस्यीय, २०१ देखि १००० जनासम्म विद्यार्धी भएको क्याम्पसमा १५ सदस्यीय, १००१ देखि ३००० जनासम्म विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय र ३००१ जनाभन्दा बढी विद्यार्थी संख्या भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ ।
त्रिवि विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ । विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।