बैशाख १८, बिहीबार काठमाडाैंमा पत्रकारहरुकाे नसर्ने रोगको स्वास्थ्य परीक्षण गरिएकाे छ ।
पत्रकार महासंघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा आयोजित शिविरको शिविरमा पत्रकारहरुको रक्तचाप, मधुमेह, बिएमआई मापन र पिसाव मार्फत मृगौला जाँचका साथै परामर्श सेवा प्रदान गरिएको महासंघले जनाएकाे छ ।
उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष निर्मला शर्माले सधै व्यस्त रहने पत्रकारको पेशागत अवस्थालाई मध्यनजर गर्दै निःशुल्क शिविर राखिएको बताउनुभयो । उहाँले शरिर स्वस्थ्य रहेमात्र पेशामा खरो रुपमा उत्रिन सकिने भन्दै पत्रकारलाई स्वास्थ्य रहन आग्रह गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले नसर्ने रोगका विरामी बढिरहेको भन्दै सधै व्यस्त रहने पत्रकारहरुले आफ्नो स्वास्थ्यमा पनि ध्यान दिन आग्रह गर्नुभयो । उहाँले खानपान नै स्वास्थ्यको मुख्य आधार रहेको भन्दै खानपान तथा व्यायाममा ध्यान दिनुपर्ने बताउनुभयो ।
जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा.वसन्त अधिकारीले नसर्ने रोगको शिविर प्रदेशस्तरदेखि पालिकासम्म सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
त्यस्तैगरी, जनस्वास्थ अधिकृत अनिता खनालले नसर्ने रोगको भार बढ्दै गएको कारणले प्रारम्भिक पहिचानका लागि स्क्रिनिङ कार्यक्रम आयोजना भइरहेको जानकारी दिनुभयो ।