काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका अनुसार, ‘आयकर ऐन, २०५८’ बमोजिम ग्राहकका खाताबाट हुने कर कट्टी नेपाल सरकारको स्थायी लेखा नम्बर प्रणालीमा समावेश गर्न आवश्यक भएकाले प्यान अद्यावधिक अनिवार्य छ ।
ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप वा वेब पोर्टल प्रयोग गरी सजिलै प्यान अद्यावधिक गर्न सक्नेछन् । साथै, प्यान अद्यावधिकको सुविधा देशभरका शाखा कार्यालयहरूमा समेत उपलब्ध गराइएको बैंकले जनाएको छ ।
बैंकले निक्षेपमा तिर्नुपर्ने ब्याजमा गरिएको कर कट्टीलाई इडीटीएस प्रणालीमा पठाउन प्यान आवश्यक भएको स्पष्ट पारेको छ । प्यान अद्यावधिक भएपछि कर कट्टी विवरण स्वचालित रूपमा मिलान हुने र कर चुक्ता प्रमाणपत्र लिन बैंक धाउनुपर्ने झन्झट हट्ने बैंकको भनाइ छ ।बैंकले प्यान अद्यावधिक नगरेका ग्राहकको ब्याज कर समायोजनमा उत्पन्न हुन सक्ने समस्यामा बैंक जिम्मेवार नहुने स्पष्ट रूपमा जनाएको छ ।
यदि यसअघि प्यान उपलब्ध गराइसके पनि विवरण समावेश नभएको खण्डमा ग्राहकले नजिकको शाखा वा ग्राहक सेवा केन्द्र (१६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गर्न सक्नेछन् । सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले सबै ग्राहकलाई समयमै प्यान अद्यावधिक गरी लाभ लिन अनुरोध गरेका छन् ।