- विनोद दाहाल
नेपाली समाजमा जनताविरुद्ध बारम्बार हस्तक्षेप र दमन गर्दैआएको सामन्तवाद एकपटक फेरि आफ्नो लुटको स्वर्ग फर्काउन उद्दत देखिएको छ । युद्धकै घोषणा गरेझैं कथित देश बचाउने जिम्मेवारी लिने बेला आएको बताउदै अब चुप नबस्ने निर्णय सुनाएको छ । यो आधुनिक कालको सबैभन्दा खतर्नाक घण्टी बजेको स्थिति हो ।
यतिखेर राजावादीहरू आन्दोलनमा छन् । विनादलका झुण्डझुण्ड गिरोहका विशेषतः पुराना सामन्ती शासकहरू र धार्मिक पाखण्डी स्वभावका हिंश्रक अभिव्यक्ति दिने जत्था केही पिछडिएको चेतना भएका र भाडामा हिंड्नेहरू त्यो भीडमा देखिएका छन् ।
श्रानेन्द्र चाहिँ यस्तै राजनैतिक कमजोर धरातलका मानिसको भरमा परेर आफ्नो लुटिएको स्वर्ग फिर्ता गर्ने अन्तिम प्रयास गर्दैछ । यसका लागि उसले भारतीय नस्लवादी शासक र मठाधिसहरूको समर्थन जुटाएको छ ।
यता भुपु राष्ट्रप्रमुखको हैसियत अस्वीकार गरेर अब संविधान विपरित उसको शासन फर्काउन चुनौति खडा गरिदिएको छ ।
हजारौं जनताको वलिदान र लाखौंलाख जनताको त्यागबाट बनेको यो राज्यव्यवस्था एकपटक फेरबदल हुनुपर्ने स्थिति आएको छ । यता भ्रष्टाचारबाट बच्नको लागि यो सरकार बन्नुपरेको स्वघोषणा गरेका संसदवादी दलालहरू लिच्चड भएर देश र जनताको दोहन गरिरहेका छन् ।
यिनले खडा गरेको कुशासन लोकतान्तिक प्रणालिले समाधान दिनै नसक्नेगरी अपराधिहरूका मजबुत सेटिङ भैराखेकाले जनतामा निराशा पैदा भएको अवस्थाको फाईदा पनि ती अनुदारवादी सामन्ती तत्वले लिईरहेका छन् ।
रक्षात्मक अवस्थामा रहेका र पटकपटक पहलकदमी लिनबाट चुकेका क्रान्तिकारिहरूको दायित्ववोध अझै नभएको देख्दा दूनीयाँ चकित छ ।
ज्ञानेन्द्र सल्बलाएको मात्र हो र केही समयमा सामान्य अवस्थामा पुग्छ भन्ने जस्तो कमजोर बुझाई पनि सतहमा देखिएका छन् ।
स्थिति त्यस्तो हैन र छैन ।
यो बेला केही गम्भीर प्रश्नहरू उब्जिएका छन् र ती सवालहरूको जवाफ दिनु हाम्रो जिम्मेवारि रहन गएको छ ।
सत्ताधारी सबै जनबिरोधि र देशद्रोही छन् भन्ने आशयले राजतन्त्र चाहनेहरू अभिव्यक्त गरिरहेका छन् ।
भारतको प्रतिक्रियावादी शासकको ईच्छामा चल्ने दलालविरुद्ध जनयुद्ध भएको हेक्का हुनुपर्ने हो । नेपालको सन्दर्भमा सुगौलीसन्धिपछि तिनै सामन्ती दलालहरूले शासन गरेका थिए ।
तिनैलाई धक्का दिंदै जनयुद्ध भएकाले यहाँ दलाल मात्र छैनन्, क्रान्तिकारिहरू पनि यो व्यवस्थामा वैधानिक राजनीतिमा छन् भनेर बुझ्दा सहि होला कि !
आफ्नो नीति र योजना भन्दा बाहिरबाट यो व्यवस्थामा रहेका संसदवादी दलहरू पनि राजाप्रति सदासयता राखेर बोलिरहेकाले अब ती दलहरूमा पनि व्यापक अन्तर्विरोध खडाभएको सहजै बुझ्नसकिन्छ ।
यस्तो अवस्थामा राजनैतिक शक्तिसन्तुलनमा केही फेरबदल भैसकेको छ र परिवर्तनका लागि योगदान गरेको र संझौताबाट हटेर आफ्ना केही मुद्दाहरू मुलतः वर्गीय मुद्दा पुनः उठाएर अघिबड्नुपर्ने स्थिति आएको छ ।
हामी राजनैतिक आन्दोलनले उठेको चेतना र अझै पनि सल्वलाईरहेको सामन्तवादी शासकका आफ्नो अस्तित्व रक्षाका लागि फैलाएको भ्रममा रैतीकै अवस्थामा रहेका मानिसको कमजोर चेतना व्यवहारमै देख्नसक्ने अवस्थामा छौं ।
यहाँ जनअधिकारले मानिसबीच भेदभाव गर्नै नपाउने कानुनी व्यवस्थाले उचाई लिएको र नागरिकलाई सामन्ती चेतनाले मानिसको दर्जा नै नदिएको अवस्थामा व्यवहारमै देख्नसक्छौं ।
अहिले सिराहामा महायज्ञ लगाउने भन्दै भएको घटना उदाहरणको रुपमा देख्नसक्छौं ।
सामन्तवादले दलित बसेको ठाउँ भनेर अपवित्र भएको भन्ठानेको माटो नै पन्छाएको छ भने नागरिक अधिकारले कसैमाथि शोषण दमन अन्याय विभेद नगरीकन मात्र धार्मिक गतिबिधि गर्न पाईंने स्थिति निर्माण गरेको छ ।
यो अन्तरबिरोधको छपिनोफानो नै नेपाली जनक्रान्ति हो त्यसैले अहिले पनि क्रान्ति जारि नै छ भन्न सकिन्छ ।
अहिले क्रान्तिबिरुद्ध प्रतिक्रान्तिकारी हतियारहरू निम्न अनुसार छन् ।
१. माओवादी नेतृत्व विरुद्ध आक्रमण गर्ने तथा बदनाम गर्ने ।
२. संक्रमणकालिन न्यायसम्बन्धि पारित कानुन लागू हुन नदिने ।
३. सबै दलहरू भित्र रहेका सामन्ती चेतना बोकेकाहरूलाई प्रयोग गरी अन्तरबिरोध खडागरी दलहरू कमजोर पार्ने ।
४. अन्तमा जनतालाई बुझाएको भनिएको राजकीय सत्ता कथित ‘देश जोगाउने’ नाउँमा ‘कुे’ गरेर लिने ।
५. संसदवादी दलका नेतृत्वहरू किन्ने र तर्साएर काबुमा राखिदिने ।
६. सत्ता हत्याउने तयारी स्वरुप समर्थनका लागि भारतीय साम्प्रदायिक शासक वर्गसँग सम्बन्ध सुदृढ गर्ने ।
७. आजसम्म बारम्बार कु गरेका अनुभवहरूबाट पाठ सिकेर अझ क्रूर बन्ने ।
हतियारहरू यस्ता प्रयोग गरे पनि सामन्तवादकापछि लाग्नेहरू अत्यन्त कमजोर चेतनास्तर र फरकफरक बुझाई भएकाहरू छन् ।
उनीहरूको बुझाईमा जनताले न्यायका लागि भन्दै सङ्घर्ष गर्नै हुँदैन वा हुँदैनथ्यो । उनीहरू ठान्दछन् कि परिवर्तनका लागि वा न्यायका लागि आन्दोलन गर्ने नै आन्दोलनको जिम्मेवार हुन् वा दोषी हुन् ।
राजा रहे मात्र देश रहन्छ वा सुरक्षित हुन्छ । राजाले जे गर्छन् सबै कुरा राम्रो होस् भनेर गरेका हुन्छन् र त अरू भारतबाट वा विदेशबाट चलेका हुन् तर राजाले उनीहरूको साथ लिएर जनदमन गरे पनि ठिकै हुन्छ भन्ने बुझ्दछन् ।
राजा पाल्न दलका नेतृत्व वा चुनावबाट आएका प्रतिनिधि पाल्न भन्दा सहज र सस्तो पर्छ भनेर उनीहरू फलाकिरहेका हुन्छन् । स्वतन्त्रता नराम्रो हुन्छ र समानता असम्भव हुन्छ भनेर वकालत नै गर्नखोज्छन् ।
राजा खोज्नेहरू सामन्तवाद बारेमा प्रश्न गर्दैनन् अर्थात दासताले भरिएका लाग्दछन् । यस्ता मानिसको भीड सधैं विदेशी शक्तिले प्रयोग र परिचालन गर्ने गर्दछन् । यो खतर यहाँ नमज्जाले मडारिइरहेको छ ।
ज्ञानेन्द्रले राजकीय सत्ता फर्काउन रोजेका मानिस कस्ता छन् भने यी कोही पनि व्यक्ति सङ्गठित हुने र शक्ति निर्माण गर्ने हैसियतका छैनन् ।
यही भएर ज्ञानेन्द्र जस्तो कुख्यात व्यक्तिले सहजै उपयोग गर्न सकेको छ । दुर्गा प्रसाईं एकातिर “… यो देश भारतलाई दिऊँ ! “ भन्नसक्छभने अर्कोतिर राजा नल्याई देश रहँदैन पनि भन्नपुग्छ ।
अर्को उसले भाडामा लिएको स्वागत नेपाल सेना लिएर निरङ्कुश शासन ल्याउनुपर्ने ठान्छ ।
अर्को राप्रपा छ, यसले राजसंस्था मानार्थ रुपमा राख्दा राम्रो हुने कुतर्क गर्दछ ।
ज्ञानेन्द्रले प्रयोग गरेका पुराना र अनुदार पञ्चमाथि ऊ अझै आशा र भरोसा राखेको देखिन्छ । यस्ताबाट कु गरेर ल्याएको व्यवस्था चल्नसक्दैन भनेर सायद ज्ञानेन्द्रले पनि बुझेकै छैन ।
यही भएर मुर्खता र दुस्साहस स्वरुप उसले अन्तिम फायर खोलेको छ । अब एकपटक राजनैतिक शक्ति सन्तुलनमा हेरफेर त हुन्छ नै तर सामन्तवाद ईतिहासको अँध्यारो कुनै कुनामा थान्का लाग्नेछ ।
अर्को नयाँ युग प्ररम्भ हुने निश्चित छ ।