काठमाडौं । काठमाडौंको फोहोर फाल्न बञ्चरेडाँडा पुगेका टिफरलाई स्थानीयले अवरोध गरेका छन् ।
बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बिसर्जन गर्न नदिने भन्दै ककनी गाउँपालिकाका स्थानीय र जनप्रतिनिधि आन्दोलनमा उत्रिएका हुन ।
फोहोर र मानिसलाई सँगै राख्न नमिल्ने भन्दै आफूहरुले पटक पटक माग राख्दा पनि सुनुवाइ नभएकाले उनिहरुले बताएका छन् ।
सोमबार बिहानैदेखि वडाध्यक्ष बजगाईंसहितको टोलीले बन्चरेडाँडा नजिकैको आलेटार क्षेत्रमा फोहोर बोकेर गएका उपत्यकाका गाडीहरुलाई अवरोध गरेका छन् ।
त्यहाँका स्थानीयवासी अव्यवस्थित ढंगबाट फोहोर बिसर्जन गर्दा झिँगा धेरै आउन थालेपछि आक्रोशित बनेको वडाध्यक्ष बजगाईंले बताए ।
केही दिनअघि ककनी गाउँपालिकाले फोहोर बोकेर आउने गाडीहरुलाई प्रवेश शुल्क लिने निर्णय गरेको थियो ।
तर स्थानीयले शुल्क भन्दा नागरिकको स्वास्थ्य महत्त्वपूर्ण भन्दै फोहोर विसर्जन गर्न नदिने अडान लिएपछि अहिले जनप्रतिनिधिहरू नै फोहोर विसर्जन गर्न नदिने भन्दै आन्दोलनमा उत्रिएका छन् ।