१४ बैशाख, हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले संविधानले व्यवस्था गरेको एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले यथाशीघ्र बनाउनुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार हेटौंडामा आयोजित स्थानीय तहका पदाधिकारी तथा कर्मचारीका लागि कानुन निर्माण, मेलमिलाप तथा राजपत्र सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले संविधान कार्यान्वयन गर्नका लागि एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले यथाशीघ्र बनाउनुपर्ने जरुरी रहेको बताए ।
उनले पुराना ऐन, कानुनहरूलाई परिमार्जन गर्नुपर्ने बताए । मन्त्री श्रेष्ठले कानुन निर्माण गर्दा ‘मान्छेको लागि कानुन हो, कानुनको लागि मान्छे होइन’ भन्ने सिद्धान्तलाई आत्मसात गर्नुपर्नेमा जोड दिए ।
उनले न्यायिक समितिको प्रकृति राजनीतिक भएकाले न्याय निरुपण गर्दा न्यायिक पदाधिकारीहरू आफ्ना मतदाता र राजनीतिक दलप्रति जवाफदेही र उत्तरदायी हुनसक्ने खतरा रहेको औँल्याए । कतिपय पदाधिकारीहरूको दक्षता, योग्यता, अनुभवको कमी हुने तथा संयोजकको बहुल जिम्मेवारी हुनेहुँदा समयका कारण न्याय निरुपणमा निष्पक्षता र तटस्थता नहुने जोखिम रहेको पनि बताए । उनले प्रशासनिक व्यवस्था र श्रोत साधनको अपर्याप्तताको कारणले न्याय निरुपण प्रभावित भएको भन्दै सोही कारण प्रदेश सरकारले स्थानीय न्यायिक समिति पदाधिकारीहरूको क्षमता अभिवृद्धिका कार्यक्रम गरिरहेको बताए ।