एजेन्सी
उत्तर कोरियाली नेता किम जोङ उनले यसै महिना राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुसको भ्रमण गर्ने योजना बनाएको खुलेको छ ।
एक अमेरिकी अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार किम यसै महिनाको अन्तिमतिर रुस जान लागेका हुन् । ह्वाइट हाउसले दुई देशबीचको हतियार वार्ता “सक्रिय रूपमा अगाडि बढिरहेको” भन्ने नयाँ जानकारी पाएको दाबी गरेको छ ।
दुई नेताबीचको भेटमा उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराउने सम्भावनाबारे छलफल गर्ने खबरमा दाबी गरिएको छ । यस विषयमा उत्तर कोरिया वा रुसबाट अन्य अमेरिकी सञ्चारमाध्यमहरूले खासै टिप्पणी गरेका छैनन् ।
किमले यसअघि प्रायः सशस्त्र रेलबाट यात्रा गर्ने गरेकोमा यसपटक के गर्छन् भन्ने खुलेको छैन ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रुसका रक्षामन्त्री सर्गेई शोइगुको उत्तर कोरियाको भर्खरैको भ्रमणका क्रममा रुसलाई हतियार बेच्न प्योङयाङलाई मनाउन खोजेको बताए।
उनका अनुसार उत्तर कोरियाले आफ्नो स्याटेलाइट र आणविक पनडुब्बी कार्यक्रममा सहयोग गर्न मस्कोबाट उन्नत प्रविधि खोजिरहेको हुन सक्छ।
कोविड महामारीपछि किमले विदेशी पाहुनाका लागि देशको ढोका खोलेको यो पहिलो पटक थियो । न्यूयोर्क टाइम्सका अनुसार किम र पुटिनबीचको भेट रुसको पूर्वी तटमा रहेको भ्लादिभोस्तोक सहरमा हुनसक्छ ।
प्योङयाङ र मस्को दुवैले यसअघि उत्तर कोरियाले रुसलाई युक्रेनको युद्धमा प्रयोग गर्न हतियार उपलब्ध गराएको कुरा अस्वीकार गर्दै आएका छन्।