– भोजराज घिमिरे
पुँजीवाद एक त्यस्तो ब्यवस्था हो जसमा उत्पादनका संशाधनहरु, उधोग, कलकारखानाहरु व्यक्ती विशेषको नियन्त्रणमा रहेको हुन्छ । पुँजीवादी ब्यवस्थामा पुँजीपतिहरुलाई सक्दो उत्पादन गर्ने र सक्दो नाफा कमाउने स्वतन्त्रता रहेको हुन्छ ।
यस्तो व्यवस्थामा पुँजीपतिहरुमाथी सरकारको कुनै पनि किसिमको नियन्त्रण हुदैन ।
पुँजीवादी अर्थ ब्यवस्थामा उत्पादनका साधनहरुमा निजी स्वामित्व कायम रहन्छ । पुँजीवादी समाजमा निजी सम्पत्तिको महत्व हुन्छ ।
यस्तो समाजमा बस्तुको बितरण र बिकास स्वतन्त्र बजारको अबधारणामा आधारित हुन्छ ।
अनियन्त्रित ब्यापारमार्फत व्यापारीहरुले प्रतिस्पर्धाका आधारमा बढीभन्दा बढी मुनाफा कमाउने प्रयासमा लाग्ने गर्छन् ।
नेपालमा बिदेशी पुँजीको सेवा गर्ने दलले बिस्तारवादी मुलुक भारत र साम्राज्यवादी देश अमेरिकाको पक्ष लिनु या पक्षपोषण गर्नु अस्वभाविक होइन । नेपालमा भारतीय एकाधिकार पुँजीको प्रभाव छ ।
यसरी पुँजीपतिवर्ग र पुँजीवादी व्यवस्थामा रहेर लोकतन्त्रको नारामा समाजवाद ल्याउने विचार नवसंशोधनवाद हो । संशोधनवाद माक्सवादी विचारधारा र मजदुर आन्दोलन भित्रको स्खलन रुप हो ।
व्यापक कामदार मजदुर बर्गलाई संगठित गरि सशस्त्र सङघर्षको बाटोबाट समाजवादमा जाने बाटो माक्सवादी कम्युनिस्ट हो । आफुलाई माक्सवादी कम्युनिस्ट भन्ने सत्तासीन र प्रमुख प्रतिपक्ष माक्सवादी कम्युनिस्ट पार्टीका नेताहरू शान्तिपूर्ण बाटोबाट समाजवाद आउने विश्वास गर्छन् ।
नेपालका माक्सवादी कम्युनिस्टहरुले माक्सवादलाई आआफ्नो ढंगले ब्याख्या विश्लेषण गर्न थालेका छन ।
गलत ढंगले माक्सवादको ब्याख्या विश्लेषण गरेकैले नेपालको माक्सवादी कम्युनिस्ट आन्दोलन अघि नबढेको हो । माक्सवादी कम्युनिस्ट पार्टी बलियो नभएको हो ।
माक्सवादी कम्युनिस्टहरुको काम पुँजीवादलाई पृष्ठपोषण गर्नु होइन न त पुँजीवादी सरकारमा गएर समाजवाद आउछ भनी झुटको खेती गर्नु हो ।
माक्सवादलाई अन्य सबै प्रकारका भौतिकवाद र अभौतिकवादहरुवाट छुट्टाउने सभन्दा महत्वपूर्ण बिशिस्टता त्यसको भौतिकवादी द्वन्द्ववाद नै हो ।
फिड्रिक एङ्गल्सले द्वन्द्ववादका धारणा नियमहरुलाई प्रत्यक्ष वा बिचारहरुमा नै सिमित राखेका थिए । त्यसैले निकै अर्थमा अघिका द्वन्द्ववादीहरुको भन्दा बढी बिकसित र युक्तिहरु भए पनि उनको द्वन्द्ववाद भौतिक जगतको ब्याख्या गर्ने असमर्थ थियो ।
त्यसको खण्डन गर्ने क्रममा माक्सले बिज्ञान तथा सामाजिक ब्यवहारलाई आधार बाएर बस्तुगत रुपको भौतिकवादी द्वन्द्ववादको सुत्रपात गरे जुन उनकै शब्दमा आलोचनात्मक र क्रान्तिकारी स्वभावको छ ।
उनका अनुसार द्वन्द्व नै सम्पुर्ण गति र बिकासको आन्तरिक स्रोत हो । अध्यात्मवादी तथा अभौतिकवादी सिद्धान्तहरु बिरुद्ध माक्सवादको शुद्धताको रक्षा गर्दे लेनिनले भौतिकवाद तथा अनुभजन्य आलोचना र कतिपय आफ्ना अन्य कृतिहरुमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको बिकास गर्नुभयो ।
प्राकृति बिज्ञानको क्षेत्रमा आधारभुत आबिष्कारहरु लगाएत बिज्ञानका नबिनतम उपलब्धिहरुको दार्शनिकरुपमा सामान्यीकरण गर्नुभयो ।
नयाँ युगको विश्लेषण नै लेनिनको महानतम रचनात्मक देन थियोे । साम्राज्यवाद पुँजीवादको चरम अवस्था भन्ने उहाँको कृति पुँजीकै क्रमबद्ध बिकास र नयाँ चरण थियोे ।
साम्राज्यवादी चरणमा पुँजीवादको असमान आर्थिक एवं राजनीतिक बिकाससम्बन्धि आफुले उद्घाटन गरेका नियमका आधारमा लेनिनले शुरुमा केही मात्र अझ एउटै कुनै देशमा मात्र समाजवादको बिजयको सम्भाब्यताबारे ज्यादै निष्कर्ष थियो ।
राज्य र क्रान्तिबारे सर्वहाराबर्गको अधिनायकत्वबारे माक्सवादी सिद्धान्तको चौतर्फी बिकास गर्नुभयो । आफ्नो बिचारधारालाई बिश्वको क्रान्तिकारी रुपान्तरण गर्ने साधनको रुपमा हेर्दे कार्ल माक्स र एङ्गल्सले समाजवादलाई मजदुर आन्दोलनसंग जोड्ने त्यस बर्गलाई आफ्नो सिद्धान्तद्धारा सुसज्जित पार्ने कोशीसि गर्नुभयो ।
जसको उदेश्य पुँजीवादको उन्मुलन र समाजवादी समाजको निर्माण हो । सर्वहारा पार्टीको सिर्जना नै मजदुरबर्गको बिजयको लागि सबभन्दा महत्तवपूर्ण शर्त हो ।
विभिन्न सोतका अनुसार पुँजीवाद १७औं शताब्दीबाट अस्तित्वमा आएको हो । यो बर्तमान समयमा पनि कायम रहेको छ ।
यसले बेलायतमा भएको औध्योगिक क्रान्तिपछि विश्व समाजमा बलियोसंग जरा गाडेको देखिन्छ । युरोपमा शुरुभएको औध्योगिक क्रान्तिपश्चात् बिकसित भएको समाजलाई औध्योगिक समाज भनेर हेर्ने गरिन्छ ।
औध्योगिक समाज कृषिमा आधारित समान सामाजिक सम्बन्धहरुको चरम बिकासवछि बिकसित भएको हो । यसलाई आधुनिक समाजको ऐतिहासिक बिकास क्रममा निक्कै महत्वका साथ ब्याख्या गर्ने गरिन्छ ।
पुँजीवादको समाजमा बर्चस्व बढ्दै जाँदा औध्योगिक उत्पादनहरु समेत यसैलाई बलियो बनाए । औध्योगिक उत्पादनले जनजिवनलाई सहज बनाउदै लगे पनि समाज बिस्तारै उपभोगवादी बन्दै गयो ।
प्रत्येक ब्याक्तिको आर्थिक उपार्जन उसले श्रम बेच्ने क्रममा गर्न सक्ने कसिकसाउमा आधारित हुदै गयो । बर्ग भिाजित समाजमा उत्पादक शक्तिहरु र उत्पादन सम्बन्धहरुबीचको अन्तरबिरोधले आफुलाई शोषित तथा शोषक बर्गहरुमाझ सङघर्षको रुपमा अभिब्यक्त गर्दछ । तदानुसार सामाजिकृत उत्पादन र पुँजीवादी अपहरणबीचको अन्तरबिरोध जुन पुँजीवादी समाजको मुल अन्तरबिरोध हो ।
त्यसले सर्वहाराबर्ग र पुँजीपति बर्गका बीच सङघर्ष र बैरभावको रुपमा आफुलाई प्रकट गर्छ । प्रत्येक क्रान्तिको सभन्दा आधारभुत सवाल सत्ताको सवाल हो । यो समाजवादी क्रान्तिसम्बन्धि माक्सवादी सिद्धान्तको एउटा महत्वपूर्ण प्रस्थापना हो ।
जसरी पुँजीवादी क्रान्तिमा सामन्ती सत्तालाई फालेर पुँजीपतिबर्गको सत्ता कायम गर्नु रहन्छ त्यसैगरी समाजवादी क्रान्तिको प्रमुख उदेश्य पुँजीपतिबर्गबाट सर्वहारा बर्गमा सत्ताको हस्तान्तरण हो ।
पुँजीवादी र समाजवादी समाजको बीचमा एकबाट अर्कोमा क्रान्तिकारी रुपान्तरणको अवधि रहन्छ । तदानुरुप एउटा राजनैतिक संक्रमण अवधि पनि रहन्छ जसमा राज्य सर्वहाराबर्गको क्रान्तिकारी अधिनायकत्वबाहेक अर्को कुनै हुनसक्दैन । सर्वहाराबर्ग र त्यसको सभन्दा अघिबढेको दस्ता माक्सवादी पार्टीको अन्तिम लक्ष्य एउटा नयाँ सुखी तथा समृद्ध बर्गहीन समाजको स्थापना गर्नु हो ।