हेटौँडा, भदौ २९, अस्पतालभित्रै चिकित्सकलाई कुटपिट गर्नेहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै हेटौँडाका स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् । उनीहरूले अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन्
हेटौँडा–१२ का राजेश प्रधानको एक महिनाअघि चितवनमा उपचारका क्रममा मृत्यु भएको थियो । चितवन जानुअघि प्रधान हेटौँडाको सञ्चो हस्पिटलमा उपचारका लागि गएको र चिकित्सकहरूले स्वास्थ्यमा सुधार देखिएको भन्दै घर पठाइदिएका थिए ।
उपचारमा लापरबाही गर्दा प्रधानको मृत्यु भएको आरोपमा दुई चिकित्सकमाथि बुधबार दिउँसो निर्घात कुटपिट भएको थियो । मृतक प्रधानका परिवार र आफन्तहरूले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरमाथि कुटपिट गरेका थिए ।
बिरामी हेरेर फर्किने क्रममा डाक्टर प्रशान्त बिडारी र डाक्टर विकास थापामाथि कुटपिट भएको थियो । चिकित्सकरूले दोषीमाथि कारबाही नभए सामूहिक राजीनामा दिने चेतावनीसमेत दिएका छन् । उनीहरूले राजीनामा पत्र खल्तीमा बोकेका छन् ।
केही चिकित्सकहरूले भने हेटौँडा छोडेका छन् । पाँच जना चिकित्सक बिदा मागेर काठमाडौं हिँडेका बताइएको छ ।