काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बृहत्त जनकपुर क्षेत्र विकास परिषद्मा देखिएको दीर्घकालीन समस्या समाधानका लागि मधेस प्रदेशका सभामुखसहित धनुषा र महोत्तरी क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूसँग विशेष छलफल गर्नुभएको छ ।
परिषद्का प्रतिनिधिसँग पटक–पटकको संवादबाट समस्या हल नहुँदा मन्त्री पाण्डेले संघीय सांसदहरूसँग प्रत्यक्ष छलफल गर्नुभएको हो । छलफलका क्रममा मन्त्री पाण्डेले परिषद् स्थापना कालदेखि नै यसमा विविध समस्या रहँदै आएको स्मरण गराउँदै भन्नुभयो, “परिषद् लामो समयदेखि समस्याग्रस्त छ, विनियमावली नबन्नु र संरचनागत अस्पष्टता मुख्य चुनौती बनेको छ।”
छलफलमा सांसदहरूले ९ सय बिगाहा जग्गा अपचलनमा परेको भन्ने विषयमा पनि गम्भीर छानबिन हुनुपर्ने बताउनु भएको थियो ।
सांसदहरूले परिषद्को हालको संरचनाले काम गर्नै नसक्ने स्थिति सिर्जना भएको जनाउँदै यसको पुनःसंरचना अपरिहार्य रहेको धारणा व्यक्त गरे । छलफलमा सहभागी सांसदहरूले जनकपुर क्षेत्रको ऐतिहासिक र धार्मिक महत्वलाई दृष्टिगत गर्दै परिषद्को प्रभावकारिता वृद्धि गर्न माग गरे ।
धनुषा र महोत्तरी क्षेत्रका सांसदहरूले यस्तो संवेदनशील विषयमा पहिलोपटक गम्भीर छलफल भएको भन्दै मन्त्री पाण्डेलाई धन्यवाद दिनुभयो ।
मन्त्री पाण्डेले छलफलको समापनमा भन्नुभयो, “सांसदहरूको सुझाव महत्वपूर्ण छन्। यसलाई कार्यान्वयनमा लैजान म स्वयं प्रतिबद्ध छु । जनकपुर क्षेत्रको समुचित विकासका लागि परिषद्को पुनरावलोकन र आवश्यक सुधारको कार्य अघि बढ्छ।”
जनकपुर क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र धार्मिक समृद्धिलाई संरक्षित गर्दै पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको परिषद् पछिल्ला केही वर्षयता निष्क्रिय जस्तै रहँदै आएको छ।