११ माघ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटिने प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टै आचारसंहिता प्रस्ताव गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृतहरु विभिन्न अनैतिक अश्लील हर्कत र अनियमितता लगायतका भ्रष्टाचार विवादमा मुछिने क्रम बढेपछि मन्त्रालयले ‘नेपाल सरकारबाट स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतको आचारसंहिता’ को मस्यौदा तयार गरेको हो ।
अनुशासनमा कस्ने गरी प्रस्तावित आचारसंहितामा प्रमुख प्रशासकीय अधिकृतले स्थानीय तहका प्रमुखसँगसमक्ष शपथग्रहण गरेर मन्त्रालयमा जानकारी गराउनु पर्ने व्यवस्था समेत प्रस्ताव गरिएको छ ।
मस्यौदामा प्रमुख प्रशासकीय अधिकृतले खुला तथा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गर्न नहुने उल्लेख छ । ‘यस्तै विद्युतीय माध्यमबाट आफ्नो व्यक्तिगत जीवनको श्रव्य दृष्य सामग्री संग्रह गर्ने तथा प्रशारण गर्नु हुँदैन,’ प्रस्तावित आचारसिंहतामा भनिएको छ, ‘कार्यलाय समय वा कार्यालय समयबाहिर सामाजिक जीवनमा नकारात्मक प्रभाव पार्ने गरी व्यक्तिगत क्रियाकलाय गर्नु हुँदैन ।’
यो वर्ष इलामको माइजोगमाई गाउँपालिका र झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले कार्यालय र सरकारी क्वार्टरमा अश्लील गतिविधि गरेको भिडियो बाहिरिएको थियो । यो घटनापछि उनीहरु मन्त्रालयमा तानिएका थिए ।
यिनै घटनाका आधारमा आचारसंहिताको मस्यौदामा कुनै सहकर्मी कर्मचारी तथा साथीलाई लैंगिक, मानसिक तथा यौन दुर्व्यवहार हुने गरी कुनै क्रियाकलाप गर्न नहुने र सहकर्मी कर्मचारीबीच व्यावसायिक तथा सामाजिक क्रियाकलाप अनुकरणीय हनुुपर्ने पनि उल्लेख गरिएको छ ।
मन्त्रालयका सहसचिव तथा मस्यौदा कार्यदलका संयोजक सुमन दाहाल सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र निजामती सेवाका कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ बमोजिम कार्यालय र सार्वजनिक जीवनमा गर्नुपर्ने व्यवहारदेखि सामाजिक सञ्जालको प्रयोगसम्ममा देखिएका कमी कमजोरीहरुलाई ध्यानमा राखेर आचारसिंहताको मस्यौदा बनाएको बताउँछन् ।
प्रभाव, प्रलोभन, भनसुन वा आग्रहबाट प्रभावित नहुन र काम विशेषले कार्यालय बाहिर जाँदा रजिस्टर वा विद्युतीय प्रणालीमा विवरण खुलाउनपर्ने पनि व्यवस्था पनि गरिंदैछ ।
सेवाग्राही तथा सम्बन्धित सरोकारवालाहरुसँग कार्यस्थलभन्दा बाहिर भेटघाट नगर्न, उपहार नलिन र कुनै पनि प्रकारको खरिदमा स्वार्थ राखेर काम नगर्न, स्थलगत भ्रमणमा जाँदा सेवाग्राही, निर्माण व्यवसायी वा स्थानीय तहको सेवा प्रदायकको सौजन्यमा होटल, खाजाखाना, लज, सवारी साधन वा अन्य कुनै किसिमको सुविधाको उपयोग गर्न पनि निषेध गर्न प्रस्ताव गरिएको छ ।
कार्यालयभित्र वा सार्वजनिक स्थलमा मदिरा सेवन, तास जुवा खेल्नेसहित मर्यादामा आँच आउने काम नगर्न पनि आचारसंहतिामा व्यवस्था गर्न खोजिएको छ ।
आवश्यक स्वीकृतिविना विदेश भ्रमण, तालिम वा कार्यशाला गोष्ठीमा भाग लिन जान नहुने, दातृ निकाय वा अन्य कुनै पनि संस्थासँग कुनै पनि प्रकारको सहयोग माग गर्ने अभिप्रायले पत्राचार गर्न नहुने र आफ्ना परिवार वा नातेदारलाई छात्रवृत्ति वा अन्य सहयोग माग वा स्वीकार गर्न नहुने प्रस्तावित आचारसंहितामा उल्लेख छ ।
निष्पक्ष र विधिसम्मत तरिकाले मात्रै राय सुझाव र निर्णय दिने र निर्णयको कार्यान्वयनमा सामूहिक सहयोग र सद्भाव प्रदर्शन गर्ने व्यवस्था पनि आचारसंहिताको मस्यौदामा प्रस्ताव गरिएको छ ।
राजनीतिक रुपमा तटस्थता प्रदर्शन गर्दै राजनीतिक कार्यक्रममा सरकारी सवारी साधन, सार्वजनिक सम्पत्तिका साथै अन्य स्रोत साधनको प्रयोग गर्न दिन नहुने र आफू पनि यस्ता गतिविधिमा संलग्न हुन नहुने व्यवस्थासमेत मस्यौदा आचारसंहितामा छ ।