असार १४, सिन्धुली । ‘सिन्धुलीगढी सम्पदा संरक्षण संवाद’ सात बुँदे प्रतिवद्धता – पत्र, २०८१ जारी गर्दै सम्पन्न भएको छ ।
समृद्ध सिन्धुली अभियान र होटल संघ नेपाल सिन्धुलीद्वारा शुक्रबार सिन्धुलीमाढीमा आयोजित कार्यक्रममा गढीको इतिहास सम्पदाको अवस्था र पर्यटन विकासका सन्दर्भमा बृहत छलफल गरिएको थियो ।
छलफलमा सहभागीबाट व्यक्त विचारलाई संक्षेपीकरण गरी ऐतिहासिक सिन्धुलीगढी सम्पदाको संरक्षण सम्बन्धमा सात बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ ।
लिच्छविकालिन किल्ला अवशेषका रूपमा सिन्धुलीगढी रहेको छ । नेपाली इतिहास र सम्पदाका दृष्टिकोणले उच्च महत्त्व राख्ने सिन्धुलीगढी किल्ला सेन शासक र मल्ल शासनकालमा अझ व्यवस्थित बनाइएको पाइन्छ ।
गोर्खाबाट पूर्व बढेका पृथ्वीनारायण शाहले काठमाडौ अधीनस्थ नुवाकोट विजय गरेसँगै काठमाडौं उपत्यकालाई घेर्ने रणनीति बनाए । त्यसक्रममा बनेपा आसपासका गढीकिल्ला नियन्त्रणमा लिन सफल भए । ससुराली राज्य मकवानपुर समेत पृथ्वीनारायण शाहले जितेपछि सिन्धुलीगढी किल्ला गोर्खालीको नियन्त्रणमा पुगेको थियो ।
गोर्खालीको घेराबन्दीमा परेका कान्तिपुरका राजा जयप्रकाश मल्लले इस्टइन्डिया कम्पनीसँग सैनिक सहायत मागे । नेपाल पस्ने दाउमा रहेको इस्ट इन्डिया कम्पनीले जयप्रकाशको सहायता मागलाई तत्काल स्वीकार गर्यो । कप्तान जर्ज किनलोकको नेतृत्वमा दुइहजार चारसय सेना खटाइयो ।
किनलोकको नेतृत्वमा सुरू भएको काठमाडौं सैनिक यात्राको ढाड १८२४ असोज १५ गते सिन्धुलीगढीमा भाँचिएको थियो । सो लडाइँमा सिन्धुली र आसपासका लडाकू युवा, महिलाले गोर्खाली सेनालाई साथ दिएका थिए । सिन्धुलीगढी क्षेत्रमा भएको यो लडाइँलाई सिन्धुलीगढी युद्धका रूपमा चिनिन्छ ।
यो युद्धले नेपाललाई उपनिवेश हुनबाट बचाएको थियो । तसर्थ, सिन्धुलीगढी वरपरका किल्ला गढी पौवा शीलालेख मार्गहरू इतिहास मात्र होइन हाम्रो वीरता झल्कने सम्पदा समेत हुन् ।
सिन्धुलीगढी राणाकालिन प्रशासनिक केन्द्र पनि हो । गढी चौकी गढी दरबार गढीबजार सिद्धबाबा मन्दिर काली मन्दिर जस्ता सम्पदा यहाँ छन् ।
राणा शासन विरूद्धको २००७ सालको शसस्त्र क्रान्तिमा समेत सिन्धुलीगढीमा भिषण लडाइँ भएको थियो ।
विसं २०५२ सालमा गढी चौकीमाथि फौजी आक्रमण गरि १० बर्षे सशस्त्र सङ्घर्ष थालनी भएको थियो । नेपालको राजनीतिक परिवर्तनको एउटा परिघटनाका रूपमा समेत सिन्धुलीगढी जोडिएको छ ।
सिन्धुलीगढी इतिहास र सम्पदासँग मात्र होइन नागरिकको समेत चासोको विषय बन्न पुगेको छ । यो ऐतिहासिक सम्पदाको संरक्षण र विकासले सिन्धुलीको पर्यटन विकासमा कोसेढुङ्गा सावित हुनसक्छ । तसर्थ, सिन्धुलीगढीको सम्पदा संरक्षण संवाद मार्फत नागरिकको आवाज संसद सरकार र संरक्षण निकायसम्म लैजाने प्रयास गरिएकाे समृद्ध सिन्धुली अभियान संयाेजक भुवन थापाले बताए ।
भेलाले जारी गरेको सात बुँदे प्रतिवद्धता–पत्र, २०८१
१. सिन्धुलीगढीमा जथाभावी निर्माण भएका संरचनाले हाम्रो सम्पदा मासिदै गएको छ । सिन्धुलीगढीको विषयमा जे जति गुरुयोजना निर्माण गरिएको छ तिनलाई सार्वजनिक गरी नागरिक तहको छलफल मार्फत संरक्षण गुरुयोजना तयार पारिनु पर्दछ ।
२.पौवागढीबाट सिन्धुलीगढीहुँदै चपौलीतिर जाने बाटो स्थानीयले दैनिक रुपमा प्रयोग गर्ने मार्ग समेत हो । सो मार्गमा निर्वाध रुपमा आवतजावतका लागि खुला गरिनु पर्दछ ।
३. सिन्धुलीगढीको सम्पदा, इतिहास मेटिदै गएको छ । यसको संरक्षणमा सम्बद्ध निकाय जिम्मेवार र संवेदनशील हुनु आवश्यक छ । ऐतिहासिक गढी किल्ला, सम्पदाको संरक्षणका लागि नेपाल सरकारले तयार पारेको नीति निर्देशन अनुशरण गर्नु पर्दछ ।
४. सरकारले करोडौँ रुपियाँ लगानी गरी पुनर्निर्माण गरेको रानीमहल दरबार संरक्षणविहीन अवस्थामा पुगेको छ । सो दरबारलाई युद्ध संग्रहालयका रुपमा विकास गरी संरक्षण गरिनु पर्दछ ।
५. सिन्धुलीगढीमा भौतिक संरचना निर्माण गर्नुअघि स्थानीयसँग कुनै पनि सुझाव लिने कार्य गरिएको थिएन, छैन । गढीको सम्पदा संरक्षणमा स्थानीयको सहभागितालाई सुनिश्चितता गरिनु पर्दछ ।
६. कप्तान किनलक मार्गका रुपमा जुन नाम प्रस्ताव गरिएको छ त्यसप्रति हाम्रो असहमति छ । स्थानीयवासीको छलफलबाट पदमार्गको नामाकरण गरिनु पर्दछ ।
७. सिन्धुलीगढी विजय दिवस असोज १५ गते मनाइनु पर्छ ।