८ माघ, काठमाडौं । सर्लाहीको बरथवा नगरपालिका–५ मा प्रहरीको गोली लागेर एक युवकको ज्यान गएको घटनामा गोली चलाउने प्रहरी अधिकारी बर्खास्तीमा पर्ने भएका छन् ।
छानबिनमा क्रममा अनावश्यक बल प्रयोग गरेको पाइएपछि इलाका प्रहरी कार्यालय, बरथवाका वरिष्ठ हवल्दार सोनेलाल यादवलाई बर्खास्त गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको हो ।
घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले बनाएको सह–सचिव थानेश्वर गौतम नेतृत्वको समितिले पनि उनलाई बर्खास्त गर्न सिफारिस गरेको थियो । २० पुसमा अस्पताल स्थापनाको विषयमा विवाद हुँदा बरथवा नगरपालिका–६ का जयशंकर साह मारिएका थिए ।
प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतका अनुसार, घटनालगत्तै हवल्दार यादवलाई निलम्बन गरेर छानबिन गर्न भनिएको थियो । यद्यपि, उनलाई जिल्ला प्रहरी कार्यालयमा तानेर राखिएको थियो ।
भिड नियन्त्रणमा खट्ने प्रहरीको मनोबल गिर्ने भन्दै कारबाही गर्न प्रहरी हच्किएको थियो । तर, सहसचिव गौतम नेतृत्वको टोलीले गरेको स्थलगत अध्ययनका क्रममा समेत अनावश्यक रुपमा वरिष्ठ हवल्दार यादवले बल प्रयोग गरेको भेटिएपछि बर्खास्तीका लागि सिफारिस गरिएको हो ।