काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता र ब्याजदर कम भएको मौका पारेर सरकारले आन्तरिक ऋण उठाउने क्रमलाई तीव्रता दिएको छ । गत माघ महिनामा मात्रै विकास ऋणपत्रमार्फत ५० अर्ब तथा ट्रेजरी बिल मार्फत १० अर्ब गरेर ६० अर्ब आन्तरिक ऋण उठाएको थियो । आज फागुन ८ गते बिहीबार विकास ऋणपत्र बोलकबोल मार्फत थप १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ ।
यसै क्रममा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ वर्षे अवधिको विकास ऋणपत्र २०९० को बोलकबोल मार्फत १० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने कार्यालयले जनाएको छ ।
उक्त ऋणपत्रको फागुन ८ गते बिहीबार १० बजेदेखि अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने फागुन ९ गते शुक्रबार निष्कासन हुनेछ । ऋण बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, अन्य संगठीत संस्था र नेपाली नागरिकले दिन पाउनेछन् । सरकारले लिने यो ऋणको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ । ऋणपत्रको ब्याज भुक्तानी ६–६ महिनामा हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । यसको सावाँ भुक्तानी २०९० फागुन ९ गते हुने जनाइएको छ ।
इच्छुक संस्था तथा नेपाली नागरिकले घटीमा ५ लाख र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाइ ५ लाखले निःशेष भाग जाने रकम बराबरको ऋणपत्र किन्न पाउनेछन् । सरकारलाई दिएको यो ऋणको प्रमाणपत्र अर्थात् ऋणपत्र धितोमा राखी कर्जा लिन दिन पाइनेछ भने धितोपत्रको दोस्रो बजारमा पनि खरिदबिक्री हुनेछ ।
माघ महिनामा मात्रै ६० अर्ब आन्तरिक ऋण
सरकारले गत माघ महिनामा मात्रै ६० अर्ब आन्तरिक ऋण उठाइसकेको छ । गत माघमा १० अर्ब बराबरका ५ वटा विकास ऋणपत्र तथा ट्रेजरी बिलको बिक्री मार्फत १० अर्ब आन्तरिक ऋण उठाएको हो । फागुन लागेपछि पनि ट्रेजरी बिलको बिक्रीबाट ५ अर्ब ऋण लिइसकेको छ ।
चालु आवको तेस्रो त्रैमास अर्थात माघदेखि चैत मसान्तसम्म सरकारले १ खर्ब १३ अर्ब ५० करोड आन्तिरक ऋण उठाउने लक्ष्य राखेको छ । चौथो त्रैमासमा ३५ अर्बमात्र आन्तरिक ऋण उठाउने कार्यतालिका छ । सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ खर्ब १५ अर्ब तथा दोस्रो त्रैमासमा ६६ अर्ब ५० करोड आन्तरिक ऋण उठाइसकेको छ ।
सरकारले चालु आर्थिक वर्षमा आन्तरिक ऋणमार्फत ३ खर्ब ३० अर्ब स्रोत जुटाउने लक्ष्य राखेको छ । सरकारले चालु आर्थिक वर्ष सुरु भए यता फागुन ७ गतेसम्म २ खर्ब ४६ अर्ब ५० करोड आन्तरिक ऋण उठाइसकेको छ ।