काठमाडौं । पुष १, रूस र युक्रेन बिच भइरहेको युद्धका क्रममा नेपालीहरू विभिन्न गैरकानूनी बाटो प्रयोग गरी रूसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मुत्यु भएको, केही घाइते भएका र अझै पनि सयौँको सङ्ख्यामा नेपालीहरू रूस र युक्रेन दुवैतर्फको सेनामा कार्यरत रहेको भनी विभिन्न स्रोतबाट प्राप्त जानकारीप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्राप्त जानकारीअनुसार युक्रेनी सेनाको आक्रमणमा परी रूसी सेनामा कार्यरत केही नेपालीको मृत्यु भएको, केही घाइते भई अस्पतालमा उपचाररत रहेका, केही नेपालीहरू विपक्षी सेनाको नियन्त्रणमा रहेका र सयौँको सङ्ख्यामा दुवैतर्फको सेनामा नेपालीहरू संलग्न रहेको बुझिन आएको छ । नेपाली नागरिकहरू जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन जान्छ ।
अत: युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न, स्वदेश फर्कन चाहने नेपालीहरूलाई कुटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन, मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस प्रकारको गैरकानूनी बाटोबाट वैदेशिक रोजगारमा जाने स्थितिको अन्त्य गरी नागरिकको जिउ धनको सुरक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।