काठमाडौं । नेपाल भित्रने रेमिट्यान्स (विप्रेषण आप्रवाह) २१ प्रतिशत वृद्धि भएको छ । सात महिनामा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ३९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो । नेपालमा मासिक औसत १ खर्ब १९ अर्ब रुपैयाँ रेमिट्यान्स आउने गरेको छ ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ४७ हजार १२ र पुन: श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५४० रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमश: ३ लाख १४ हजार ७६७ र १ लाख ६७ हजार ७०८ रहेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २०.० प्रतिशतले वृद्धि भई ९ खर्ब १० अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५.२ प्रतिशतले बढेको थियो ।