काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच आज बिहान चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो ।
भेटमा बीआरआई सम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधि लगायतका विषयमा छलफल भएको बताइएको छ ।
छलफलमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्र राय यादव लगायत मन्त्रीहरु पनि सहभागी छन् । उक्त छलफलपछि केही सहमति पत्रमा दुवै देशका अधिकारीहरुबीच हस्ताक्षर गर्ने कार्यक्रम छ ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डको सम्मानमा चीन सरकारको तर्फबाट चिनियाँ जनमुक्ति सेनाले सलामीसहित गार्ड अफ अनर प्रदान गरेको थियो । गार्ड अफ अनरपछि द्विपक्षीय भेटवार्ता जारी छ ।
चिनियाँ राष्ट्रपति सी जिनफिङसँग हाङजाउ सहरमा भएको भेटमा भएको कुराकानीका आधारमा सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिएर प्रधानमन्त्री प्रचण्ड उतैबाट चीनको औपचारिक भ्रमणका लागि हाङजाउ सहरमा पुगेका थिए ।


