फागुन १७, काठमाडौं । राष्ट्रिय महिला फुटबल टिम वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग पराजित भएको छ ।
साउदी अरेबियामा भएको आठौं संस्करणको वाफ च्याम्पियनसिप फाइनलमा जोर्डनसँग पेनाल्टीसुटआउटमा ५–३ ले पराजित भएपछि नेपाल उपविजेतामै समेटिएको हो ।
जेद्दाहस्थित प्रिन्स अब्दुलल्ह अल–फैसल स्पोर्ट्स सिटी मैदानमा भएको फाइनल खेल निर्धारित ९० मिनेट २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो ।
पेनाल्टीसुटआउटमा जोर्डनले प्रहार गरेका पाँचै पेनाल्टी गोल भयो । नेपालका लागि गीता राना, दीपा शाही र हिरा कुमारी भुजेलले गोल गर्दा अमृता जैशी चुकिन् । अमृताको पेनाल्टी जोर्डनी किपरले बचाए । जोर्डनले छैटौं पटक वाफ च्याम्पियनसिप उपाधि जितेको हो ।
यसअघि नेपालले विभिन्न प्रतियोगितामा गरी १० पटक फाइनल पुगेपनि सधैँ उपविजेतामै सिमित भएको थियो । जसमा नेपाल साफ महिला च्याम्पियनसिपमा ५ पटक फाइनल खेल्दा पाँचै पटक उपविजेता बनेको थियो ।
यस्तै दक्षिण एसियाली खेलकुद (साग)मा तीन पटक फाइनल पुग्दा पराजित भयो । यस बाहेक सन् २०१९ मा भारतमा भएको वुमन्स गोल्डकप कप र कीर्गिस्तानमा भएको नादेज्दा कपमा पनि फाइनल पुग्दै उपविजेताममै समेटिएको थियो ।