काठमाडौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंज नर्सिङ क्याम्पसले
आइतबार तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ ।
नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सात समूहबीच प्रतियोगिता भएको थियो ।
विशेष अतिथि साहित्यकार सम्पादक रमेश दाहालले उद्घाटन गरेको उक्त प्रतियोगिता समारोहको
सभापतित्व क्याम्पस प्रमुख मुना राना थापाले गरेकी थिइन् ।
प्रतियोगिता समारोहका प्रमुख अतिथि इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा समाजसेवी कृष्ण कँडेल थिए भने
निर्णायकहरूमा प्रा.डा. जीवेन्द्रदेव गिरी, संगीतकार तथा गायक कृष्ण गुरुङ, साहित्यकार पार्वती भट्ट थिए ।
प्रतियोगी सात समूहले प्रस्तुत गरेका तीज गीतहरू विशुद्ध नेपाली तीज गीतको भाकामा गाइएका थिए भने
वर्तमान अवस्थामा नर्सहरूको कथाव्यथा पीडालगायतका गीतका शब्दहरूले उपस्थितहरू सबैको मन
छोएको थियो ।
उनीहरूका गीतहरूमा नर्सिङ पेशा नभई सामाजिक सेवा भएको कारण नर्सहरूको कार्यलाई
सम्मानपूर्वक हेरिनुपर्ने र उनीहरूको लागि सरकारले उचित व्यवस्था गर्न नसकेको भन्ने कुराहरूलाई व्यक्त
गरिएको थियो । साथै तीजको दर खाँदा खानेकुराहरूमा ध्यान दिई आफ्नो स्वास्थ्यलाई ध्यान दिऔँ भन्ने
सन्देशसहितका भावहरू गीतमा प्रस्तुत गरिएको थियो ।
प्रमुख अतिथिको मन्तव्यमा कृष्ण कँडेलले प्रस्तुत गीतहरू साँच्चै नै मार्मिक भएको र वर्तमान अवस्थामा
पार्टी प्यालेसहरूमा ह्वीस्की बियरका साथमा डिस्को गीत तथा तीज गीतको नाममा छाडा प्रवृत्तिको गीतमा
रमाउँदै तीज मनाउने महिलाहरूलाई समेत सन्देश दिएको बताएका थिए ।
तीज गीत प्रतियोगितामा प्रस्तुत गरिएका गीतहरुले आफूलाई ३० वर्षअघि फर्काएको अनुभव व्यक्त गरेका
थिए भने प्रस्तुत प्रतियोगीहरूलाई इन्द्रेणी कार्यक्रममा सहभागी गराएर गीतका व्यथाहरू र सन्देशलाई
सम्बन्धित निकायसम्म पुर्याउने कुरा व्यक्त गरेका थिए ।
प्रतियोगी सात समूहको गीतहरूको मूल्याङ्कनकर्ताहरूको मूल्याङ्कनका आधारमा पार्वती भट्टले प्रथम
द्वितीय तृतीय हुने समूहको घोषणा गरेकी थिइन् । सातौँ समूह प्रथम भए पनि सबै समूहका गीतहरू उत्कृष्ट
भएको र थोरै नम्बरमा फरक रहेको कुरा बताएकी थिइन् ।
प्रथम द्वितीय तृतीय हुने समूहलाई पुरस्कार र अन्य समूहका विद्यार्थीहरूलाई सान्त्वना पुरस्कार कार्यक्रमका
प्रमुख अतिथि कृष्ण कँडेल, विशेष अतिथि रमेश दाहाल र कार्यक्रमका सभापति तथा क्याम्पस प्रमुख मुना
राना थापाले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि कृष्ण कँडेल र निर्मला भण्डारीबीचको “राइझुमा” बोलको गीतको दोहोरीले
कार्यक्रमलाई रोचक र मनोरञ्जक तुल्याएको थियो ।
क्याम्पसकी शिक्षिका सीता वलीद्वारा रोचक तरिकाले सञ्चालन गरिएको कार्यक्रममा उपस्थित अन्य
अतिथिहरूले समीक्षा मन्तव्य व्यक्त गरिएको थियोभने क्याम्पसकी सह प्राध्यापक कृष्णादेवी श्रेष्ठले धन्यवाद
मन्तव्य व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथिलाई कदरपत्रसहित र मूल्याङ्कनकर्ताहरू तथा विशेष अतिथि एवं अतिथिहरूलाई
मायाको चिनो वितरणसहित सभापतिको मन्तव्यमार्फत कार्यक्रम समापन गरिएको थियो ।