सिन्धुली । गोलन्जोर गाँउपालिकालाई सेनेटरी प्याड नष्ट गर्ने मेसीन हस्तान्तरण गरिएको छ ।
ब्याक टु लाइफको आर्थिक सहयोग तथा सामुदायिक पद्धति विकास सेवा (सिएसडिएस) सिन्धुलीको समन्वयमा गाँउपालिका मार्फत १५ वटा विद्यालयलाई सेनेटरी प्याड नष्ट गर्ने मेसीन हस्तान्तरण गरिएको हो ।
ब्याक टु लाईफ नेपालका प्रबन्धक अनुप पौडेलले गाँउपालिका अधयक्ष शंकरराज बराललाई आइतबार उक्त सेनेटरी डिस्पोजल मेसिन हस्तान्तरण गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष बरालले कार्यक्रमलाई सम्बोधन गर्दै, सेनेटरी प्याड वितरण गर्दै आए पनि प्रयोग पश्चात् व्यवस्थापनमा समस्या भएकोले यस वर्षबाट गाउँपालिकालाई प्राप्त मेसिन आवश्यकता अनुसार विद्यालयहरुमा पठाउने बताए ।
गोलन्जोर गाँउपालीकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले नौवटा प्याड नष्ट गर्ने मेसिन सामुदायिक माध्यामिक विद्यालय र छवटा आधारभुत विद्यालयलाई वितरण गरिने बताए ।
विद्यालयमा अध्ययनरत छात्राहरूलाई सेनेटरी प्रयोग पश्चात् व्यवस्थापनमा समस्या रहेकोमा डिस्पोजल मेसिन प्राप्त भएपछि व्यवस्थापन गर्न सहज हुने गाउँपालिका शिक्षा शाखामा कार्यरत सुस्मा आचार्यले बताइन् ।
प्रयोग भइसकेका सेनेटरी प्याड मेसिनमा हालेपछि मेसिनले जलाएर खरानी बनाउने गर्छ । प्याड जथाभावी फाल्दा फोहोर हुने र शौचालयको प्यान नै टालिने समस्या हुने गरेकाले ब्याक टु लाइफले मेसिन सहयोग गरेपछि सहज हुने आचार्यले बताइन ।
सामुदायिक संरचना निर्माण तथा सवलिकरण परियोजना अन्तर्गत विद्यालय शिक्षामा सुधार ल्याउने, स्वास्थ्य सेवा प्रवद्र्धन गर्नुका साथै ग्रामीण समुदायमा खानेपानी तथा सरसफाईमा पहँच पुर्याउनका लागि काम गरिरहेको प्रबन्धक अनुप पौडेलले बताए ।
परियोजनाले दुईवर्षभित्र उक्त गाँउपालिकामा एउटा अस्पताल भवन निर्माण गर्नुका साथै तीनवटा हेल्थपोष्ट भवन निर्माण तथा उपकरण जडान गर्ने लक्ष राखेको छ ।
त्यसैगरी गाँउपालिका भित्र पाँचवटा विद्यालय भवन निर्माण तथा फर्निचर बनाउनुका साथै छवटा खानेपानी परियोजना समेत रहेको पौडेलले जानकारी दिए ।