काठमाडौं । लुटपाटमा संलग्न रहेको भन्दै ३ जना प्रहरीसहित ६ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।
लुटेराहरूसँग मिलेर अपराधमा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका सहायक हवल्दार प्यूठानका ३६ वर्षीय राजेन्द्रबहादुर केसी, प्रहरी सहायक हवल्दार बाँकेका ३५ वर्षीय खगेन्द्र मल्ल ठकुरी र प्रहरी जवान खोटाङका २४ वर्षीय हीरा मंग्रातीलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरी अनुसार उनीहरूले मोरङका २४ वर्षीय कपिल बस्नेत, दोलखाका ३१ वर्षीय संजोक तामाङ र मोरङका २० वर्षीय मनिष कुमार रायसँग मिलेर क्रिप्टोकरेन्सी कारोबारी धादिङका २६ वर्षीय रोशन गुरुङलाई लुटेका थिए।
पक्राउ परेका प्रहरीहरु तीनै जना घुमुवा (सूचना संकलन गर्ने) प्रहरी हुन् । उनीहरुले गुरुङबाट १४ लाख रुपैयाँ, प्रहरीको परिचय पत्र र हतकडीसमेत देखाएर लुटेको बताइएको छ । प्रहरीले रोशन गुरुङलले क्रिप्टोकरेन्सीमा एक अर्ब सतासी करोड सात लाख तेह्र हजार एक सय रुपैयाँ कारोबार गरेकोसमेत बताएको छ ।
पक्राउ परेका रोशन गुरुङलाई अभौतिक मुद्रा सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ भने बाँकीलाई डाँका–चोरी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले लुटपाटमा संलग्न ६ जनाबाट १२ लाख १० हजार, ६ थान मोबाइल र गाडी बरामद गरेको छ भने रोशन गुरुङको साथबाट दुई वटा मोबाइल, एउटा ल्याप्टप र दुई लाख १९ हजार रुपैयाँ बरामद गरेको थियो ।