काठमाडाैं । उमेरको विषयमा छानबिन सुरू भएपछि नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्। पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएको सैनिक उच्च स्रोतले जनाएकाे छ ।
रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर चौतर्फी प्रश्न उठेको थियो। नागरिकतामा उमेर सच्याएको उजुरी परेपछि सैनिक मुख्यालयभित्रै छानबिन समेत सुरू भएको थियो।
पाण्डे आगामी प्रधानसेनापतिको रोलक्रममा समेत थिए। प्रधानसेनापति प्रभुराम शर्माको २०८१ भदौ २४ गते कार्यकाल सकिए लगत्तै पाण्डे प्रधानसेनापतिको रोलक्रममा थिए।
परीक्षा नियन्त्रण कार्यालय र सैनिक मुख्यालय स्रोतबाट प्राप्त कागजातअनुसार पाण्डेले जन्ममिति सच्याएको देखिन्छ। छुट्टाछुट्टै विवरणमा उनको जन्ममिति २०२१ र २०२३ साल उल्लेख छ।
‘सैनिक नियमावली अनुसार उपरथी दर्जाको अवकास हुने उमेरको हद ५७ वर्ष हो। २०२१ साल माघ १२ गतेको जन्ममिति अनुसार उहाँले २०७८ माघ १२ गते नै अवकाश पाइसक्नुपर्ने हो तर अहिले १ वर्ष ८ महिना बढी समय अवधी किर्ते गरेर जागिर खाइरहनुभएको छ,’ सैनिक मुख्यालयमा परेको उजुरीमा उल्लेख छ।
एसएलसी प्रमाणपत्रमा पाण्डेको जन्ममिति २०२१ माघ १२ गते छ।तर, २०४२ चैत २५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंको चलानी नम्बर ७५८८ अनुसार पाण्डेको जन्ममिति २०२३ मंसिर २३ गते कायम गरिएको भन्दै एसएलसीको नतिजा प्रकाशित भएको मिति २०३८ सालको सक्कली ढड्डामा उल्लेख छ।
तर उनको नागरिकता जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०४३ वैशाख ०३ गते जारी भएको देखिन्छ।
नागरिकता जारी भएको मिति अगावै कसरी उक्त जिल्ला प्रशासन कार्यालयबाट उमेर सच्याउन पत्राचार भयो भन्दै सैनिक मुख्यालय र प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा पनि उजुरी परेको थियो।
२०१७ सालमा जारी भएको परीक्षा नियन्त्रण कार्यालयको नियम अनुसार, एसएलसीको प्रमाणपत्रमा कुनै गल्ती वा भूल भएको खण्डमा उक्त विषय प्रमाण पत्र जारी भएको ६ महिना भित्र सुधार गर्नुपर्ने समयसीमा कायम रहने व्यवस्था थियो।
तर २०३८ सालमा परीक्षा दिएर २०४२ सालमा उमेर सच्याइएको स्पष्ट देखिएकाले यो गैरकानुनी हो भन्दै उनीविरूद्ध सैनिक मुख्यालयमा उजुरी परेको थियो।