काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा आजदेखि काठमाडौंमा सुरु हुँदै छ । होटल याक एण्ड यतीमा आयोजित साधारण सभाको उदघाटन बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । यसै साधारणसभाबाट हाल महासंघका वरिष्ठ उपाध्यक्ष पदमा रहेका चन्द्र ढकाल स्वतः अध्यक्ष हुने छन् भने नयाँ वरिष्ठ उपाध्यक्ष लगायतका पदका लागि बुधबार निर्वाचन हुनेछ ।
उद्योग वाणिज्य महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष चुनिएको व्यक्ति तीन वर्षे कार्यकाल पछि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ ।
नयाँ वरिष्ठ उपाध्यक्ष चुनिनका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई चुनावी प्रतिस्पर्धामा छन् । उनीहरुले प्यानलसहित उम्मेदवारी घोषणा गर्दै उद्योग व्यापारमैत्री वातावरण निर्माणका लागि सरकारसँग पहल गर्ने लगायतका एजेण्डा अघि सारेका छन् ।