काठमाडौँ ।आश्विन १,— चार वर्षपछि आयोजना गरिएको १५ औं संस्करणको नाडा अटो सो सकिएको छ । भदौ २६ मा सुरु भएर ३१ मा सकिएको अटो सो ७६ हजार १ सय जनाले अवलोकन गरेको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । अटो सोमा दुई र चारपांग्रे दुवै किसिमका सवारीमा दर्शकको आकर्षण उत्तिकै रहेको नाडाको भनाइ छ ।
सवारीसाधनबारे जानकारी लिने, खरिद गर्ने र बुकिङ गर्ने एउटै स्थलमा भएकै कारण दर्शकको आकर्षण बढेको नाडाका अध्यक्ष ध्रुव थापाले बताए । कोरोना महामारी र सवारीसाधनको आयातमा लगाएको प्रतिबन्धले गर्दा मेला रोकिए पनि यस पटकको मेला अघिल्ला वर्षको तुलनामा भन्दा राम्रो भएको नाडाले जनाएको छ ।
आर्थिक मन्दीको समयमा पनि आगन्तुकको उत्साहनजक उपस्थिति अनुमान गरिएको भन्दा धेरै भएको उनको भनाइ छ । ‘अटो सोको कारोबार तीन महिनासम्म चल्छ, त्यसैले यति नै कारोबार भयो भन्न सकिन्न,’ उनले भने, ‘अटो सोमा आएको आगन्तुकको संख्या हेर्ने हो भने, हामीले अनुमान गरेको २० अर्बभन्दा बढी कारोबार भएको हुन सक्छ ।’
यसअघिका संस्करणमा पार्किङले गर्दा मेलामा समस्या हुने गरे पनि यस पटक चारपांग्रे सवारीलाई मेलाभन्दा बाहिर नै पार्किङको व्यवस्थापन गरिएको मेलाका सभापति अनुप बरालले जनाए । मेलामा आउने दर्शकको बढी ध्यान विद्युतीय सवारी र दुईपांग्रे सवारीमा देखिएको नाडाले बताएको छ । अटो सोमा विभिन्न ४५ ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका थिए । चाडबाड नजिकिँदै गर्दा आयोजना गरिने अटो सोले अर्थतन्त्रलाई चलायमान बनाउने व्यवसायीहरूको भनाइ छ ।
अटो सोमा वित्तीय संस्था, सवारीसाधन, ब्याट्री, टायर, लुब्रिकेन्टलगायतका १२० वटा स्टल थिए । १६ ब्रान्डका चारपांग्रे, २२ ब्रान्डका दुईपांग्रे, ७ ब्रान्डका लाइट कमर्सियल भेहिकल र ९ वटा वित्तीय संस्थाका स्टल थिए । लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरणका ३० कम्पनीको सहभागिता थियो । अटो सोमा वर्षभरि हुनेमध्ये ६० प्रतिशत व्यापार हुने गरेको व्यवसायीको भनाइ छ ।
अटो सोको अन्तिम दिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण सुहाउँदो विद्युतीय सवारीको प्रवर्द्धनमा सरकारले थप नीतिगत प्रबन्धका अतिरिक्त थप सहजीकरण गर्ने बताए । वातावरण संरक्षणका साथै देशभित्रको बिजुलीको खपत बढाउन पनि विद्युतीय सवारीसाधनको प्रवर्द्धन जरुरी रहेको उनको भनाइ छ । विद्युतीय सवारीको प्रवर्द्धनका लागि देशव्यापी रूपमा थप चार्जिङ स्टेसन निर्माणलाई पनि प्राथमिकता दिइएको उनले सुनाए ।