काठमाडाैं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को ७५ अर्ब रुपैयाँ (५५ करोड अमेरिकी डलर) अनुदानमा सञ्चालन भइरहेको परियोजनाले निरन्तरता पाउने सम्भावना देखिएको छ ।
यसअघि गत वैशाखमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डोज)ले एमसीसी नै खारेज गर्ने तयारी गरेको समाचार बाहिरिएपछि नेपाल कम्प्याक्ट निरन्तर हुने नहुनेमा अन्योल छाएको थियो ।
अमेरिकाले वैदेशिक सहायताबारे पुनःमूल्यांकन गरिरहेकै अवस्थामा गत मार्चमा एमसीसीले नेपाललाई पत्र लेखी केही महत्त्वपूर्ण खरिद तथा कार्यालय सञ्चालन सम्बन्धी आवश्यक कार्यहरू गर्न अनुमति दिएकोमा त्यो कार्यले निरन्तरता पाई नै रहेको छ ।
एमसीसीले आफ्ना कार्यक्रम भएका अन्य देशमा कार्यक्रम कटौती गर्दा पनि नेपालमा भने केही महत्त्वपूर्ण काम गर्न दिएको अनुमतिलाई निरन्तरता दिनुलाई अर्थ मन्त्रालयका अधिकारीहरूले यो कम्प्याक्ट निरन्तरता हुने हिसाबले बुझेका छन् ।