पुस २५, पर्सा । नक्कली बाबु बनेर वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले झुटो विवरणका आधारमा एक जना किशोरीलाई नागरिकता दिएको भेटिएको छ । सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता कीर्ते गरेको भन्दै जाहेरी समेत परेको छ ।
२०७५ साल साउन १३ गते वीरगञ्ज महानगर वडा नं ३ बस्ने रुविना श्रेष्ठले जिल्ला प्रशासन कार्यालय पर्साबाट पहिलो पटक लिएको नागरिकता प्रमाणपत्रमा बुबाको नाम राजेशमान सिंह उल्लेख छ । २०७६ फागुन ८ गते प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले रुविना श्रेष्ठको नाममा प्रतिलिपि नागरिकता जारी गरेका छन् ।
रुविनाको नागरिकतामा बुबाको नाम राजेशमान सिंह उल्लेख भए पनि आमाको नाम भने खुलाइएको छैन । नागरिकतामा किशोरीको जन्म मिति २०५९ असार ३० गते उल्लेख छ ।
वीरगञ्ज महानगर वडा नं ३ स्थायी ठेगाना भएका महानगर प्रमुखको परिवारमा श्रीमती अन्नपूर्णा मानन्धर र एउटा छोरा अनिशमान सिंह श्रेष्ठमात्रै छन् ।
जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार सिंहले राजनीतिक फाइदाका लागि अरुको सन्तानलाई झुटो विवरण पेस गरेर आफ्नो नामबाट नागरिकता दिलाएको हुन सक्छ ।
महानगर प्रमुख सिंहले रुविनालाई नागरिकता दिलाउनका लागि प्रक्रियागत रुपमा सबै कागजपत्र पूरा गरेको स्थानीय प्रशासनले जनाएको छ । सिंह रुविनाको बाबु भने नभएको स्थानीय जनप्रतिनिधि र मेयर सिंहका छिमेकी बताउँछन् ।
रुविनालाई नागरिकता दिनका लागि वीरगञ्ज महानगरपालिका वडा नं. ३ ले सिफारिस दिएको छ । नागरिकताको सिफारिस दिँदा वडा अध्यक्ष रहेका बैजुलाल स्वर्णकार अहिले पनि वडा अध्यक्ष नै छन् । तर, नागरिकताका लागि सिफारिस गर्दा उनलाई बिदामा राखेर निमित्त वडा अध्यक्ष बनेका तत्कालीन वडा सदस्य तुफैल अखतर ठकुराईले सिफारिस दिएका थिए ।
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले ६ वर्ष अघि जारी भएको नागरिकताको विषयलाई अहिले सार्वजनिक गरेर बदनाम गर्न खोजिएको भन्दै कानुनी उपचार जाने बताएका छन् ।