काठमाडाैं । ललितपुर प्रहरीले जुवा खालबाट पक्राउ गरेका ८ जनालाई शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा उपस्थित गराउने भएको छ।
मंगलबार ललितपुर महानगरपालिका-१५ हात्तीवनस्थित क्लासिक टावर ब्लक ‘ए’ को १६ औं तलाबाट नेपाली सेनाका पूर्वउपरथि होम लावतीसहित ८ जनालाई पक्राउ गरेको थियो।
प्रहरीले विशेष सूचनाको आधारमा खालबाट झन्डै १७ लाख रुपैयाँसहित ८ जनालाई पक्राउ गरेको थियो। जसमध्ये सेनाका पूर्वउपरथि लावती पनि परेका थिए। अन्य भने व्यवसायीहरू हुन्।
उनीहरूलाई जरूरी पक्राउ पुर्जी दिएर प्रहरीले हिरासतमा राखेको छ। तिहारको सार्वजनिक बिदा भएकाले शुक्रबार उनीहरूलाई प्रशासनमा हाजिर गराउने तयारी छ।
प्रहरीले उनीहरूबाट १६ लाख ८२ हजार ५ सय रुपैयाँ बरामद गरेको थियो।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छैन। तिहारको समयमा पक्राउ परेका उनीहरूलाई भाइ-टीका गर्न प्रहरीले सहजीकरण गरिदिएको थियो। अहिले उनीहरू हिरासतमा छन्।