रोल्पाको त्रिवेणी गाउँपालिका–२ नुवागाउँको भगवती माध्यमिक विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला परेको घटना प्रति बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को गम्भीर ध्यानाकर्षण भएको छ । विभिन्न सञ्चारमाध्यमको अनुसार २०८२ जेठ ५ गते भगवती माध्यमिक विद्यालयका लागि नयाँ भवन बनाउने उद्देश्यले जग खन्ने क्रममा भेटिएको बम मङ्गलबार मध्याह्न सेनाको टोलीले डिस्पोज गरेको हो ।
गत भाद्र २०८१ मा पाँचथरको फालेलुङ गाउँपालिका –५ प्राङवुङको डाँडागाउँ टोलमा बालबालिका खेलिरहेका बेला घरको ‘लाछी’ बाट गोलो देखिने वस्तु घर पछाडि बलेसीमा झरेपछि एक बालकले चलाउन खोज्दा विस्फोटक पदार्थ विस्फोट भइ दुई बालबालिकाको मृत्यु भएको थियो । सशस्त्र द्वन्द्व सकिएर देशमा शान्ति पुनस्थापना भएको १९ वर्ष पुगिसकेको छ । अझै पनि द्वन्द्वको अवशेषहरू बाँकिनै रहनु दुखद छ त्यसमा पनि विस्फोटक पदार्थहरू विद्यालयहाता भित्र भेटिनु झन् दुखद हो । विगतमा द्वन्द्वरत पक्षले कहाँ कहा यस्ता कुराहरू राखेका थिए भन्ने कुराको खोजी गरी विस्फोटक वस्तुहरू लाई हटाउन र डिस्पोज गर्न ध्यान दिन हामी अपिल गर्दछौा । द्वन्द्वको क्रममा करिब ५०० बालबालिकाको मृत्यु र ६०० भन्दा धेरै बालबालिका घाइते भएका थिए भने हजाराँैका संख्यामा बालबालिका अभिभावक विहिन हुन पुगेका तितो यथार्त हाम्रो सामु जीवित नै छ । द्वन्द्वको पीडा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भोगेका बालबालिकाको मानसिक स्वास्थ्यमा आघात परेको छ । अझै पनि यस्ता घटनाहरू घटिरहदा बालबालिकामा झनै गम्भीर समस्याहरू पर्नसक्ने भएकोले सम्बद्ध सबै पक्षको ध्यानाकर्षण होस् भनि अनुरोध गर्दछौँ ।
यस घटनाको सन्दर्भमा छानविन गर्न र बालबालिकाको भयरहित वातावरणमा बाँच्न पाउने अधिकार, संरक्षित हुने अधिकार प्रति प्रतिबद्ध हुन सम्पूर्णमा अपिल गर्दछौँ । बालबालिकाको सुरक्षित तथा संरक्षित जीवन सुनिश्चितताको लागि नेपाल सरकार सम्बद्ध संवैधानिक, कानूनी, नीतिगत, संरचनागत तथा कार्यक्रमिक रूपमा प्रतिबद्ध रहेको नै छ । विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ को (६.१.१) (ङ) मा विद्यालयमा सशस्त्र हिंसात्मक क्रियाकलापको सत्यतथ्य पत्ता लगाई घटना सार्वजनिक गर्ने र त्यसबाट प्रत्यक्ष प्रभावित विद्यालय र पीडितलाई आपतकालीन सहयोग प्रदान गर्नुपर्ने व्यवस्था रहेको छ ।
यसका साथै बालबालिका सम्बन्धी ऐन २०७५ ले बालबालिकाको सुरक्षा तथा संरक्षणका लागि उचित उपाय अवलम्बन गर्न स्थानीय तहलाई प्रोत्साहन गरेको छ ।बालबालिकालाई भय रहित वातावरणमा खेल्न, हिड्न र विद्यालय शान्तिक्षेत्र हुन् भन्ने मान्यतालाई आत्मसाथ गर्दै विभिन्न सरकारी निकाय, राजनीतिक दल, क्रियाशील राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय नागरिक सङ्घ संस्था, निजी क्षेत्र सम्बद्ध सबैमा बालबालिकाको संरक्षणलाई प्राथमिकतामा राख्न हार्दिक अनुरोध गर्दछौँ ।
